विराटनगर । कोशी प्रदेशसभाको बैठक भदौ १ गते दिउँसो बस्ने भएको छ । यसअघि असार १५ गते तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत फेल भएपछि स्थगित भएको बैठक भदौ १ गतेका लागि बोलाइएको हो । प्रदेशसभा सचिवालयका प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले बैठकबारे सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएका हुन् ।
दोस्रो तथा बजेट अधिवेशन २०८० जेठ १४ गते बोलाइएको थियो । उक्त अधिवेशनभर ६ वटा बैठक बस्यो । त्यसपछि माओवादी केन्द्र र जनता समाजवादी पार्टीले हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पुनः प्रदेशसभाको अधिवेशन अन्त्य गरियो ।
फेरि असार १४ गते तेस्रो अधिवेशन आव्हान भयो । तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि उक्त अधिवेशन आव्हान गरिएको थियो । कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिन सकेनन् । त्यसपछि भने प्रदेशसभाको बैठक बस्नै सकेको थिएन ।