स्वतन्त्र सांसद अमरेशकुमार सिंह भन्छन् ‘उ बेलै सुनिल शर्माले शेरबहादुर देउवालाई एमाउन्ट बुझाएर छुटे, सांसद बने’

विराटनगर । संघीय सांसद अमरेशकुमार सिंहले राज्यका संयन्त्रहरु मान्छेलाई धम्क्याउने र सत्तामा बस्नेहरुको लागि पैसा असुल्ने धन्दामा लागेको कारण देशले समृद्धि हासिल गर्न नसकेको बताएका छन् ।

विराटनगरमा मोरङ व्यापार संघले आयोजना गरेको अर्थतन्त्रको अवस्था र वर्तमान परिचर्चा विषयक बिज टक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेसका सांसद सुनिल शर्मालाई शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सम्पत्ती शुद्धीकरण विभागले ६ दिन थुनेर राखेको र एमाउन्ट बुझाएपछि छोडिएको दाबी गरे ।

‘राजस्व अुनसन्धानको काम पैसा उठाउने हो । जो प्रधानमन्त्री हुन्छ उसलाई र उसको पार्टीलाई पैसा उठाइदिने काम गर्दछ । सम्पत्ती शुद्धीकरण पैसा उठाउँछ,’ सिंहले भने, ‘मोरङकै सांसद हुनुहुन्छ डा. सुनिल शर्मा । नाम त भन्नु हुँँन्थेन । । तर, आफ्नै पार्टीको नेतृत्वमा सरकार हुँदा (शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला) ६ दिन थुनेर राखेको थियो । प्रेम शर्मा सम्पत्ती शुद्धीकरण विभागको डिजी हुनुहुन्थ्यो । उहाँले ६ दिन थुनेर राख्नुभएको थियो । हत्कडी लगाएको भने होइन । तर, केही एमाउन्ट बुझाएपछि उहाँले पछि टिकट पनि पाउनु भयो, चुनाव पनि जित्नु भयो र सांसद पनि हुनुभयो । त्यसकारण राज्यका विभिन्न संयन्त्रको काम धम्काएर पैसा असुल्ने काम भइरहेको छ । यस्ता काम ७७ वटै जिल्लामा भएको छ ।’

उनले राज्यका संयन्त्र र विभागहरु मान्छेलाई तर्साउनका लागि दलको हतियारको रुपमा मात्रै प्रयोग भइरहेको दाबी पनि गरे । त्यही कारण देशले विकास र समृद्धि हासिल गर्न नसकेको उनको दाबी थियो । काँग्रेस सांसद शर्मा नक्कली सर्टिफिकेट बनाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ ।

बिहिबार, २५ साउन, २०८०, साँझको ०६:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर