काठमाडौँ । नेकपा माओवादी केन्द्रका नवनियुक्त प्रवक्ता अग्नि प्रसाद सापकोटाले सुन तस्करी प्रकरणमा दोषी देखिएका कोही पनि कानुन भन्दा माथि हुन नसक्ने बताएका छन् ।
बुधवार काठमाडौँको नेकपा माओवादी पार्टी कार्यालयमा आयोजित प्रवक्ता र पत्रकार बिच भेटघाट कार्यक्रममा पूर्व सभामुख समेत रहेका सापकोटाले कुनै पनि पार्टीमा भए पनि सुन तस्करीमा मुछिएका कोही पनि बच्न नसक्ने बताए ।
उनले भने ‘ सुन प्रकरणको विषयमा कानुन भन्दा माथि कोही पनि छैन, कानुनको नजरमा सबै समान हुनुपर्छ, यदि तथ्य र प्रमाणले त्यस्तो हुन्छ भने त्यसमा यो फलानो पार्टीको त्यो फलानो पार्टीको भन्ने हुँदैन । ’
प्रवक्ता र पत्र कारहरूबिचको भेटघाट कार्यक्रमलाई पुनः सुरु गर्ने बताउँदै उनले भने ‘समाजवादी मोर्चा अगाडि जान्छ र पार्टी एकताको काम पनि पहिलेको इतिहास जस्तो दोहोरिदैन् । निर्धक्क भएर अगाडि जान्छ । जानु पर्छ भनेर सबैले भनेका छन् त्यसैले पार्टीमा पूरै एकरूपता छ । एकरूप समझदारी छ । ’