काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बुधबारको बैठक पनि स्थगित भएको छ।
एमाले सांसदहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै संसद अबरुद्ध गरेका हुन् ।
उच्चस्तरीय छानबिन समिति माग गर्दै नाराबाजीसहित एमाले सांसदहरुले वेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले शुक्रबारसम्मको लागि बैठक स्थगित गरे । त्यसअघि एमाले सांसद सूर्य थापाले सुन प्रकरण छानबिनबारे गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएकोले संसद बैठक चल्न नसक्ने बताएका थिए ।
थापाले सुनकाण्डकै विषयमा बोल्न थालेपछि सत्तापक्ष माओवादी, कांग्रेस, जसपाका सांसदहरु पनि विरोधमा उभिएका थिए । उनीहरुले सुनकाण्डको विषयमा गृहमन्त्रीले जवाफ दिइसकेको भन्दै सदनको कार्वाही अगाडि बढाउन माग गरेका थिए ।
सभामुख देवराज घिमिरेले कार्यसूचीअनुसार बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए । तर, एमाले सांसदहरूले नाराबाजी जारी राखेपछि बैठक स्थगित भएको हो।
एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै लगातार संसद अवरोध गरिरहेको छ। मंगलबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि सांसदहरूले उठाएका प्रश्नमाथि प्रतिनिधि सभा बैठकमा जवाफ दिएका थिए।