विराटनगर । नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । जारी केन्द्रीय समिति बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
प्रस्तावित जिम्मेवारीअनुसार उपाध्यक्ष अग्नि सापकोटा प्रचार विभागको प्रमुख बनेका छन् भने उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन प्रदेश इञ्चार्ज बनेका छन् ।
पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव केन्द्रीय समितिले पारित गरेको हो । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मेवारी दिइएको छ भने उपाध्यक्ष पम्फा भुसाल जनवर्गीय संगठन इन्चार्ज बनेकी छन् ।
यस्तै उपमहासचिव वर्षमान पुन विशेष प्रदेश इञ्चार्ज, अर्का उपमहासचिव जनार्दन शर्मा बाग्मती प्रदेश इञ्चार्ज, सचिव चक्रपाणि खनाल कोशी प्रदेश इञ्चार्ज, सचिव लीलामणि पोखरेल मधेश प्रदेश इञ्चार्ज, सचिवm देवेन्द्र पौडेल गण्डकी प्रदेश इञ्चार्ज, सचिव हितमान शाक्य लुम्बिनी प्रदेश इञ्चार्ज, उपमहासचिव मात्रिका यादव कर्णाली प्रदेश इञ्चार्ज र सचिव डिलाराम आचार्य सुदूरपशिम प्रदेश इञ्चार्ज बनेका छन् ।
यसअघि कोशी प्रदेश इञ्चार्ज रहेका राम कार्कीलाई प्रवास इञ्चार्ज बनाइएको छ । पार्टीले सञ्चालन गर्न लागेको तीन महिने अभियानका लागि प्रदेश इन्चार्जहरू तोकिएको हो। अभियानको नाम ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ दिइएको छ।