कोशी प्रदेश नवनियुक्त मुख्यमन्त्री थापाले केही मन्त्री सहित शपथ लिँदै

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज बिहान १० : ३० बजे शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले शपथको कार्यक्रम साढे १० बजेका लागि राखिएको जानकारी दिए । मुख्यमन्त्रीको कार्यालयबाट केही मन्त्रीको पनि शपथ हुने जानकारी आएको र सोही अनुसार तयारी गरिएको श्रेष्ठले बताए ।

यसअघि मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री थापाले आफ्नो यसअघिकै क्याबिनेटका मन्त्री दोहोरिने संकेत गरेका थिए । यसअघि काँग्रेसबाट प्रदीपकुमार सुनुवार, रामकुमार खत्री, माओवादीबाट जीवन आचार्य, राजेन्द्र कार्की मन्त्री बनेका थिए । उनीहरूमध्ये आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मा पाए पनि अरू मन्त्रीहरू जिम्मेवारी विहीन थिए ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । सभामुख बाबुराम गौतमले सभामुखबाट राजीनामा दिइसकेकोले उनी माओवादी संसदीय दलका सदस्य कायम रहेको र गठबन्धनसँग बहुमत अर्थात् ४७ सांसद पुगेका हुन् ।

गठबन्धनको सरकार बनाउन सभामुख गौतमले मंगलबार नै पदबाट राजीनामा दिएका थिए । यसअघि सभामुखको हैसियतमा छुट्टै हस्ताक्षर लिएर सरकारको दाबी गरेर नियुक्त भएका थापालाई नियुक्ति प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालते मुख्यमन्त्री नियुक्त भएको २२ दिनमै बर्खास्त गरेको थियो ।

बुधबार, १७ साउन, २०८०, बिहानको ०८:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर