विराटनगर । अन्ततः सभामुखलाई राजीनामा दिन बाध्य पार्दै सत्ता गठबन्धनले कोशी प्रदेशमा फेरि उद्धव थापालाई मुख्यमन्त्री बनाएको छ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा २७ दिनभित्र दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका छन् । यसअघि असार २१ मा पहिलो ्पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थापालाई सर्वोच्च अदालतले साउन ११ गते बिहीबार पदमुक्त गरेको थियो । मुख्यमन्त्री दाबी गर्दा प्रदेश सभा सभामुखको समेत हस्ताक्षर संलग्न गराएको विषयलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै उनको नियुक्ति बदर गरेको थियो । यसपटक भने सभामुख बाबुराम गौतमले राजीनामा दिएर उनलाई बहुमत पुग्ने बाटो खोलिदिएका छन् ।
नेकपा माओवादी केन्द्रका तर्फबाट ओखलढुंगाबाट निर्वाचित गौतम दोस्रो प्रदेशसभाको सभामुखमा पुस २८ मा निर्विरोध निर्वाचित भएका थिए । तर, कोशी प्रदेशसभाको प्रतिकूल गणित उनी कोपभाजनमा पर्ने मुख्य कारण भइदियो । उनको हस्ताक्षरकै कारण अदालतले मुख्यमन्त्री थापालाई बर्खास्त गरेपछि उनको राजीनामा सत्ता गठबन्धनका निम्ति अन्तिम विकल्प बनेको हो ।
सर्वोच्चले थापाको नियुक्ति खारेज गरेर पुनः संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई साउन १७ भित्र मुख्यमन्त्री नियुक्त गर्न पनि भनेको थियो । सोहीअनुसार प्रदेश प्रमुख परशुराम खापुङले साउन १२ गते शुक्रबार मुख्यमन्त्रीमा दाबी गर्न दलहरूलाई आह्वान गरेका थिए ।
प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न दिएको समयसीमाको अन्तिम दिन मंगलबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले उनलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
यसअघि असार २१ मा जसरी पनि सभामुखलाई हस्ताक्षर गराउने नेपाली कांग्रेसको हठ प्रदेशमा उसैका लागि प्रत्युत्पादक सावित भएको थियो । सुरूमै सभामुखलाई आफ्नो पक्षमा उभिएको देखाउने लोभमा सभामुखलाई हस्ताक्षर गराएर मुख्यमन्त्री बनेका उद्धव थापा २२ दिनमै पदमुक्त भएका थिए । सर्वोच्च अदालतको पूर्ण इजलासले पुनः संविधानको धारा १६८ को उपधारा २ अनुसार नै प्रदेशमा सरकार बनाउने विकल्प जिवित राखिदिएका कारण मुख्यमन्त्री पदमा थापाको ‘कमब्याक’ सम्भव भएको हो ।
पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धामा कहिल्यै नहारेका मुख्यमन्त्री थापाका लागि राजनीतिक प्रतिष्पर्धाको बाह्य मैदान भने कहिले पनि फलदायी भएको छैन । यसपटक पनि उनको हकमा त्यही संयोग दोहोरिँदै आएको छ । पहिलो पटक मुख्यमन्त्री नियुक्त भएपछि उनलाई राप्रपाको साथ लिनैपर्ने चुनौती थियो। तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, कोशी संसदीय दलका नेता भक्तिप्रसाद सिटौला, कांग्रेसका थापा र नेता कृष्णप्रसाद सिटौलाबीच झापाको पुरानो राजनीतिक तिक्तताले त्यो सम्भव भएन ।
विश्वासको मत लिने बेलासम्म शीर्ष नेताहरूले राप्रपालाई आफ्नो पक्षमा ल्याइदिने थापाको आशा थियो । तर, त्यसअघि नै सर्वोच्च अदालतले उनलाई २२ दिनमै पदमुक्त गरिदिएको थियो । दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थापालाई विश्वासको मत लिन प्रदेशमा ‘अन्य कुरा यथावत् रहनुपर्ने’ अवस्था छ । त्यो भनेको कम्तीमा उनले विश्वासको मत लिने दिनसम्म प्रमुख विपक्षी एमालेले उपसभामुखको राजीनामा गराउन हुने छैन । पूर्वमुख्यमन्त्री एवम् एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मंगलबार विराटनगर विमानस्थलमा सत्ता पक्षले सभामुखको राजीनामा गराएर अमर्यादित खेल खेलेको आक्षेप लगाउँदै एमालेले उपसभामुखको राजीनामा नगराउने बताए ।
उपसभामुखले राजीनामा नगरे मुख्यमन्त्री थापालाई प्रदेश सभामा सजिलै बहुमत पुग्नेछ । तर, उपसभामुख सिर्जना दनुवारले पनि राजीनामा दिएको खण्डमा भने सत्ता गठबन्धनको हिसाबकिताब गडबड हुन सक्नेछ । यदि उपसभामुखले पनि राजीनामा दिएको खण्डमा प्रदेश सभाको बैठकको अध्यक्षता कसले गर्ने भन्ने विवाद सुरू हुनेछ ।
यसअघि सभामुख र उपसभामुखको अनुपस्थितिमा कसले बैठकको अध्यक्षता गर्ने भन्ने नाम टुंगो लागेको छ । तर, एमाले नेताहरूले त्यो नाम त्यही अधिवेशनका लागि मात्रै भएको बताइरहेका छन् । यदि त्यस्तो अवस्था आयो भने जेष्ठताका आधारमा कांग्रेसका गयानन्द मण्डलले बैठकको अध्यक्षता गर्नुपर्नेछ ।
सत्ता गठबन्धनले भने मण्डललाई बैठकको अध्यक्षता नगराउनकै लागि सरकारमा राज्यमन्त्री वा मन्त्रीको जिम्मेवारी दिने तयारी गरेको छ । उनी सरकारमा सहभागी भए अध्यक्षता गर्ने ज्येष्ठ सदस्य एमालेको हुने प्रदेश सभा सचिवालयको भनाइ छ । त्यसपछि प्रदेश सभामा फेरि अर्को विवाद सुरू हुने सम्भावना पनि छ ।
तर, एमाले नेता कार्कीले भनेबमोजिम उपभसभामुखले राजीनामा नदिए सरकारले विश्वासको मत सजिलै पाउनेछ । पहिलो पटक मात्रै होइन, यसपटक पनि झापाका नेता थापालाई मुख्यमन्त्री नबनाउन कांग्रेस कोशी प्रदेशमा ठूलो दबाब थियो । खासगरी शेखर कोइराला पक्षका सांसदहरू र संस्थापन पक्षकै सांसदहरू पनि उनलाई मुख्यमन्त्री बनाउन नहुने पक्षमा थिए । तर, कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका विश्वास पात्र थापा सिटौलाकै जोडबलमा मुख्यमन्त्री बन्न सफल भएका थिए । यसपटक पनि उनको विकल्प खोज्नुपर्ने मत बलियो थिया ।
अहिलेसम्म एकै पटक पनि प्रत्यक्ष चुनाव नजितेका थापा २०७९ मंसिरको प्रदेश सभा निर्वाचनमा समानुपातिक सूचीबाट सांसद बनेका थिए । यसपटक भाग्यमानी सावित भएका उनी समानुपातिकबाट प्रदेश सभा सदस्य, प्रदेश संसदीय दलको नेता हुँदै प्रदेशको पाँचौं मुख्यमन्त्री बन्न सफल भएका थिए । उनी कोशीमा कांग्रेसबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति हुन् ।
पार्टीको आन्तरिक मोर्चामा सधैँ सफलता मात्रै हात पारेका उनले दुई वटै संसदीय चुनावको प्रयासमा भने पराजय व्यहोरे । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ४ मा एमालेका प्रेम गिरीसँग पराजित उनी २०७४ मा झापा २ मा एमालेकै पवित्रा निरौला खरेलसँग पराजित बनेका थिए । त्यसपछि थापा काँग्रेसको प्रदेश सभापति बनेका थिए ।