कोशीको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता थापाको दावी पेश

विराटनगर । सभामुखको हस्ताक्षर प्रयोग गरि सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका नेपाली काँग्रेस कोशी संसदीय दलका नेता उद्धब थापाले पुनः मुख्यमन्त्रीको लागि दावी पेश गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयभित्रै संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा थापाले मुख्यमन्त्री दावी गरेका हुन् ।

थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । यसअघि सभामुख बाबुराम गौतमले छुट्टै हस्ताक्षर गरेर थापाले मुख्यमन्त्रीको दावी पेश गरेकोमा अहिले गौतमले सभामुखबाट राजीनामा दिइसकेकोले उनी माओवादी संसदीय दलका सदस्य कायम रहेकोले गठबन्धनसँग बहुमत अर्थात ४७ सांसद छन् । गठबन्धनको सरकार बनाउन सभामुख गौतमले आज नै पदबाट राजीनमा दिएका थिए ।

सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको आज बेलुका ५ः०० बजेसम्मको समय दिएका थिए ।

तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि असार २१ गते उद्धब थापाको नेतृत्वमा गठन भएको सरकारलाई साउन ११ गते संवैधानिक विपरित रहेको भन्दै सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । थापा नेतृत्वको सरकार २२ दिनमै बर्खास्त भएकोमा पुनः थापालाई नै मुख्यमन्त्रीको रुपमा गठबन्धनले अगाडि सारेको हो । झापा घर भएका थापा प्रदेशसभामा समानुपातिकतर्फका सांसद हुन् ।

कोशी प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको सभामुखसहित १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् । सरकार गठनको लागि सभामुखले राजीनमा दिएपछि गठबन्धनले सहज बहुमत जुटाएको भएपनि विश्वासको मत लिन भने सहज देखिएको छैन । सरकार गठन भएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

मङ्गलबार, १६ साउन, २०८०, दिउँसोको ०४:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर