विराटनगर । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनमा दिएका छन् । गठबन्धनको सरकार निर्माण गर्न बहुमत जुटाउन सभामुख गौतमले राजीनामा दिएका हुन् ।
यसअघि सभामुख पदमै रहेर नेपाली काँग्रेस संसदीय दलका नेता उद्धब थापालाई मुख्यमन्त्री बनाउने दावीपत्रमा गौतमले हस्ताक्षर गरेका थिए । सोही कारण थापाको सरकार २२ दिनमै पदमुक्त भएकोमा गौतमले पुनः थापालाई मुख्यमन्त्री बनाउने बाटो खोल्न पदबाट राजीनामा दिएका हुन् ।
सभामुख गौतम ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र २ बाट प्रदेशसभामा निर्वाचित भएका थिए । नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभामा निर्वाचित भएका उनी २०७९ पुस २९ गते सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए ।
गौतमले प्रदेशको स्थायित्वका लागि आफ्नो राजीनामा उचित हो भन्नेमा आफू सहमत नभए पनि परिस्थितिले बाध्य भएको बताए । ‘प्रदेशको समग्र विकास र स्थायित्वका लागि सभामुखको राजीनामा उचित हो भन्नेमा म अहिले पनि छैन । मेरो प्रष्ट कुरा छ । म कसैसँगअप्ठेरो नमानी भन्न सक्ने कुरा त्यही नै हो’ उनले भने, ‘तर परिवेशले मलाई त्यहाँ पुर्यायो र मैले त्यो (राजीनामा) गर्ने भएँ ।’ गौतमले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर पदबाट राजीनमा दिएका हुन् ।
सभामुखको राजीनामा आएसँगै गठबन्धन दलका नेताहरु मुख्यमन्त्रीको दावी गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ गएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयभित्रै संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा थापाले मुख्यमन्त्री दावी गर्दैछन् ।
थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । यसअघि सभामुख बाबुराम गौतमले छुट्टै हस्ताक्षर गरेर थापाले मुख्यमन्त्रीको दावी पेश गरेकोमा अहिले गौतमले सभामुखबाट राजीनामा दिइसकेकोले उनी माओवादी संसदीय दलका सदस्य कायम रहेकोले गठबन्धनसँग बहुमत अर्थात ४७ सांसद छन् ।