विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि बहुमत जुटाउन पदबाट राजीनामा दिनको लागि सभामुख बाबुराम गौतम विराटनगर आइपुगेका छन् ।
प्रदेश प्रमुखकोमा मुख्यमन्त्री दावी गर्ने तयारीमा गठबन्धनका नेताहरु प्रदेशसभामा सभामुख गौतमलाई पर्खिरहेका छन् ।
गौतम अहिले विमानस्थलबाट प्रदेशसभातर्फ आउँदैछन् । उनले प्रदेशसभामा आएर उपसभामुखलाई सम्बोधन गर्दै सभामुख पदबाट राजीनामा बुझाउने र लगत्तै नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धब थापालाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखकोमा दावी पेश हुने गठबन्धन दल नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
सरकार गठनमा राप्रपाको साथ नपाएपछि गठबन्धनले सभामुख बाबुराम गौतमको राजीनामा गराएको हो । गौतमको राजीनामासँगै ९३ सदस्यीय प्रदेशसभामा गठबन्धनलाई सरकार बनाउन आवश्यक बहुमत ४७ सांसद पुग्नछन् । गौतम नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
गठबन्धनले सभामुख गौतमलाई राजीनामा गराएर संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकारको दावी गर्न लागेको हो । सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको आज बेलुका ५ः०० बजेसम्मको समय दिएका छन् । सो समयभित्रै दावी पेश हुने नेता आङ्बोले जानकारी दिए ।
तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि असार २१ गते उद्धब थापाको नेतृत्वमा गठन भएको सरकारलाई साउन ११ गते संवैधानिक विपरित रहेको भन्दै सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । थापा नेतृत्वको सरकार २२ दिनमै बर्खास्त भएकोमा पुनः थापालाई नै मुख्यमन्त्रीको रुपमा गठबन्धनले अगाडि सारेको छ ।
प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको सभामुखसहित १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् ।