विराटनगर । सर्वोच्चको फैसला पछि कामचलाउ मुख्यमन्त्रीको दाबी गरेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री कार्यालयले वेवास्ता गरेको छ ।
काठमाडौंमा रहेका कार्की आज बिहान १० बजे विराटनगर आएर मुख्यमन्त्री कार्यालय जाने तयारीमा थिए । तर, उनी विमानस्थलमा ओलिँदा न उनलाई स्वागत गर्न कर्मचारीहरु पुगेका थिए, न त उनले दाबी गरेजस्तो मुख्यमन्त्रीको हैसियत प्रदान गर्ने सुरक्षाकर्मी र सवारी साधन नै थियो ।
सर्वोच्चको फैसलाले असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका उद्धब थापालाई बर्खास्त गरी साउन १७ गतेभित्र नयाँ सरकार गठनको आदेश गरेको छ । तर, यो अवधिमा कामचलाउ मुख्यमन्त्री को हुने भन्ने आदेशमा स्पष्ट नभएकोले मुख्यमन्त्री कार्यालयका कर्मचारी पनि अन्यौलमा छन् ।
महान्यायाधिवक्तासहित सरकारी वकिलहरुले उद्धब थापा नै काम चलाउ मुख्यमन्त्री रहने बताइरहेको बेला कार्की र उनको पक्षमा सर्वोच्चमा बहस गरेका वकिलहरुले भने कार्की नै मुख्यमन्त्री हुने दाबी गरिरहेका छन् । तर, मुख्यमन्त्री कार्यालयले भने कार्कीलाई अहिलेसम्म मुख्यमन्त्रीको मान्यता दिन अस्वीकार गरेको देखिएको छ ।
कार्कीलाई मुख्यमन्त्रीको रुपमा स्वीकार गरेको अवस्थामा मुख्यमन्त्री कार्यालयले झण्डावाल गाडी र तोकिएका सुरक्षाकर्मीसहित स्वागतको लागि बिमानस्थल पुग्नुपर्ने थियो । तर, मुख्यमन्त्री कार्यालयले कुनै वास्ता नगरेकोले कार्कीले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा चढ्दै आएको को १ झ ६५२ नम्बरको स्कारपियोमा विमानस्थलबाट निस्किए ।
मुख्यमन्त्री कार्यालय जाने बताउँदै आएका उनी विमानस्थलबाट आफ्नै निजी निवासतिर लागेका छन् । यस्तै आफूसहित आफ्नो क्याबिनेटमा रहेका तत्कालिन मन्त्री बुद्धिकुमार राजभण्डारी पनि आफ्नै डेरातिर लागेका छन् ।
मुख्यमन्त्री कार्यालयको बोर्ड र प्रदेशको वेबसाइटमा मुख्यमन्त्रीमा उद्घब थापाकै नाम र फोटो छ । मुख्यमन्त्री कार्यालयको बेवास्ता भएपनी कार्कीले आफू नै कामचलाउ मुख्यमन्त्री भएको दाबी गर्दै आवश्यक पर्दा मुख्यमन्त्री कार्यालय जाने बताए ।