काठमाडौँ । कोशी प्रदेशको नामकरण विवादको विषय नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उठेको छ । कांग्रेस केन्द्रीय सदस्य केशरकुमार बुढाथोकीले कोशी प्रदेश नामकरण विवादको विषय उठाएका हुन् ।
उनले एक नम्बर प्रदेशको नाम एमाले अध्यक्ष केपी ओलीले कोशी प्रदेश राखेको बैठकमा बताएका छन् । काँग्रेसले लहलहैमा कोशी प्रदेश राखेको उनले बताएका छन् । ‘अहिले सम्म पनि कोशी नाम कार्यकर्ताले स्वीकार गरेका छैन,’ उनले भने ‘कोही नेता गाउँ जान सकेको छैन । हामी यस विषयमा के गछौंँ’
एक नम्बर प्रदेशको हाम्रो उपस्थिति नभएको भन्दै उनले बैठकमा कुरा उठाएका छन् । कोशी प्रदेशको किराँत समुदायसँग नामकरणबारे पार्टी नेतृत्वले सहमति खोज्नुपर्ने उनको भनाइ छ । ‘त्यहाँ किराँत जागेका छन् । उहाँहरूले धेरै केही मागेका छैनन् । आफ्नो पहिचानसहितको प्रदेशको नाम मागिरहेका छन् । काँग्रेस चुप्प छ,’ उनले भने, ‘त्यहाँ आन्दोलनकारीसँग बेलैमा नेतृत्वले समझदारी गरेन भने नेपाली काँग्रेसले चुनावमा नलडोस् । काम पनि छैन । भोट पनि पाउँदैन । यसलाई गम्भीर रूपमा दिन मेरो अनुरोध छ ।’
‘इलामको माई पोखरीको जङ्गलमा खाल्डो खन्न लगाएर जिउँदै गाडिएको तुलाबहादुर राई, खड्गबहादुर राई, तेजबहादुर राई, बलबहादुर गुरुङ, जितबहादुर राई, डाकमान राई र लालबहादुर राईको नाम महामन्त्रीको प्रतिवेदनमा छैन । महामन्त्री विश्वप्रकाशकी त सम्झिनुहुन्थ्यो । खै त तपाईँको प्रतिवेदनमा उहाँहरूबारे रु,’ उनले प्रश्न गरे ।
महामन्त्री शर्मालाई प्रतिवेदनमा उनीहरूको नाममा पनि कार्यक्रम राख्न बुढाथोकीले बताए ।