लघुकथा: अचम्म           

 रेवती ढुङ्गाना "रफ्तार"

गाउँमा भएको एकहलको मेलो पाखो बारीको उत्पादनले बर्षदिन सम्म खान लाऊन नपुगग्ने भएपछि गुजारा चलाउनको लागि बलिराम हरेक साल सहरमा मजदुरि गर्न जाने गर्दथ्यो। उसको यो क्रम बिगत बिशौं बर्षबाट जारि थियो। उसले सहरकै एक छेउमा सानो खोल्सिको किनारमा सार्बजनिक जग्गामा बाँसका भाटाले बारेर कटेरो बनाएको थियो र उ त्यहि बस्थ्यो। बसपार्क छेउमा बसेर यात्रुका झोला झ्याम्टा तिनिहरुको गन्तब्य सम्म पुर्याउने , सबारि साधनमा आएका यात्रुका सामान चढाउने – ओराल्ने आदि उसका दैनिकि थिए। पटपट फुटेका हात खुट्टा, पाकेर सेतै भएको केस, चाउरिएको निधार, कलेटि परेका ओठ, मिठो बोलि र निरस अनुहार उसको बिशेषतानै थियो। धेरैले चिन्थे र उसैलाइनै खोजिखोजि काम लगाउथे किनकि उ इमानदार थियो।

उ हरेक पटक देसमा चुनाब हुँगा साह्रै खुशि हुन्थ्यो। उ र उ जस्तै थुप्रै सहरमा ज्याला मजदुरी गर्नेलाई लिन गाऊबाट गाडिहरु तांति लागेर आउँथे र सित्तैमा लिएर जान्थे। त्यति मात्र हैन इच्छा भोजन पनि गराउँदै लान्थे। बाटो खर्ची जोगाएर घर जान पाएकोमा उ खुसि हुन्थ्यो। महान त्याग भएको उ काम छाडेर त्यस्तोमा गाँऊ गइ दिन्थ्यो। के स्वार्थले लान्थे उसलाइ त्यो हेक्का हुदैन थियो। लानेले भनेको काम गरि दिएर आफ्नै खर्चमा सहर फिर्किन्थ्यो त्यो पनि खुसी हुँदै। त्यति मात्र कहाँ हो र उसको गाँउबाट कोहि कसैलाइ बिरामि परेर सहरमा उपचारको लागि आएको खबर सुन्ना साथ सहयोगको लागी केहिन केहि बोकेर उपचार स्थलमा पुगि हाल्थ्यो। साहारा बिहिन कोहि आएका रहेछन भने आफ्नो बास बस्ने ठाउमा लगेर राम्रो संग स्याहार सुसार गर्थ्यो। बसुन्जेल पालन पोषण गर्थ्यो। कति महान थियो उ।

समयक्रम संगै सहरमा ठुलो बिपत्ति आइपर्यो। खे के भयो उसलाइ थाहा भएन तर मानिसहरु सहर छोडेर गाउ तर्फ भागाभाग भए। टाठा बाठा सबै कुम्लो कुटुरो चेपेर बेलैमा गाउ फर्किए। यस पटक उसलाइ लिन कोहि आएन पनि र गाउ जान सुझाएनन पनि। सिधा मान्छे उ सहरमा थुनियो। धेरै दिन देखि सहर खुलेन। काम पनि बन्द भयो। उसको खाने अन्न सकिन लाग्यो। किन्ने पैसा पनि भएन। अलमल्ल भयो उ।

पाटे बाँधेर लाएका चप्पल, एक जोर फेर्ने पुराना लुगा , दुइ पाकेट चाउचाउ लिएर उ जिउ जोगाउन आफ्नो घर तिर हिड्यो । ३।४ दिन हिडेर बिच बाटो तिर पुगेपछि फेरि बाटोमा नचिनेका खै कसले हो रोकिदियो उसलाइ। एक छिन त चिच्यायो। खै छाड म घर हिडेको भनेर । उसको कुरो सुनुवाइ त भएन भएन, २।४ डण्डि बरु भेटायो। त्यसपछि लामो सासले सुइय सुस्केरा हालेर पुर्पुरोमा हात लगाउँदै सडकको एक किनारमा बसेर बरर आँशु झार्दै हरेस हुँदै बरबराउन थाल्यो त्यो चुनाबको बेला मनलाग्दि खुवाउँदै सित्तैमा गाडि चढाएर सहरबाट गाउ लाने हरु कहाँ होलान त !

सोमबार, ०८ बैशाख, २०७७

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर