विराटनगर। सर्वोच्च अदालतमा रहेको कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ।
सोमबार सर्वोच्चका न्यायाधीश शुष्मालता माथेमाको इजलासमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।
आइतबार सो रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएकोमा समयअभावका कारण हेर्न नभ्याइने परेको थियो । दोस्रो दिन न्यायाधीश माथेमाको इजलालसमा २४ औं नम्बरमा रहेको रिट फेरि हेर्न नभ्याइनेमा परेको हो ।
न्यायाधीश माथेमाले १० वटा मात्र मुद्दा हेरेकी थिइन् । खाजा समयपछि उनले कुनैपनि मुद्दा नहेरेकोले त्यसपछिका सबै मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।
कोशीमा गत बिहीबार कांग्रेस संसदीय दलका नेता उद्वव थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गर्नु संविधानविपरीत रहेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको थियो ।
रिटमा एमालेले प्रदेश सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरेको छ। सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस २९, नेकपा माओवादी केन्द्र १२, नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी १ र सभाामुख गौतमको समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका थिए ।
एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रदेश प्रमुखको कार्यालय लगायतलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए । उनले आफूलाई नै प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने माग राखेका छन् ।