विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिंजो प्रदेशसभाको बैठकमा राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा आज मत विभाजन हुँदैछ ।
प्रदेशसभाले भने हिंजै यो विषयको छिनोफानो गर्ने तयारी गरेको थियो । तर, विश्वासको मत मागेर हिँडेका मुख्यमन्त्री कार्की राती साढे ९ बजेसम्म पनि नफर्किएपछि बैठक स्थगित गरिएको थियो । प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।
नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले विश्वासको मत विभाजनका लागि आज ११ बजे बैठक बस्ने बताए । विश्वासको मत विभाजन अघि मुख्यमन्त्रीले सांसदहरुले उठाएका प्रश्नको जवाफ पनि दिनेछन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशी प्रदेशमा ४० सांसद भएको एमाले र ६ सांसद भएको राप्रपा एक ठाउँमा छन् । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि १ मत कम छ । एक मत जुटाउने अन्तिम प्रयासका लागि उनले आजसम्मका लागि बैठक स्थगीत गर्न चाहेका थिए ।
प्रदेशको विपक्षी गठबन्धनसँग पनि ४६ मत मात्रै छ । ४६ मध्ये एक सिट रहेको जसपाले विश्वासको मत विभाजन हुँदा तटस्थ बस्ने निर्णय गरिसकेको छ ।
उता, विपक्षी गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुख बाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४६ प्रदेशसभा सदस्य छन् । सभामुख बाबुराम गौतम माओवादीबाट निर्वाचित भएकाले निर्णायक अवस्थामा उनले गठबन्धनलाई मत दिन सक्छन् । तर सरकार गठन प्रक्रियामा उनलाई जोड्न मिल्ने वा नमिल्ने भन्नेमा बहस जारी छ ।
माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बो सरकारको नेतृत्वको विषय केन्द्रीय गठबन्धनले टुङ्गो लगाउने बताउँछन् ।