विराटनगर । प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समिति र कोशी प्रदेश सरकारबीच वार्ता सुरु भएको छ । वार्ताका लागि आन्दोलनरत पक्षको वार्ता समिति ढिलो आएपछि वार्ता ढिलो भएको हो । आज बिहान ८ बजेदेखि वार्ता सुरु हुने बताइएको थियो ।
वार्ता अगाडि दुबै पक्षका वार्ता टोलीले छुट्टाछुट्टै छलफल गरेर एजेन्डा तयार गरेका थिए । सरकारको वार्ता टोलीमा खानेपानी, सिंचाई तथा उर्जा मन्त्री तिलकुमार मेयाङ्बो, उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी रहेका छन् ।
आन्दोलनरत पक्षका तर्फबाट वार्ता टोलीमा गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगू छन् । गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि नामकरणविरुद्ध आन्दोलन शुरु भएको थियो । सो आन्दोलनका क्रममा एक जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।