पहिचान पक्षधरलाई मुख्यमन्त्रीले पेलेपछि राजीनामा दिन बाध्य भएँ : निर्मला लिम्बू

विराटनगर । कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला लिम्बूले नामकरण पछि उत्पन्न समस्या समाधान गर्न मुख्यमन्त्रीले कुनै चासो नदेखाएपछि मन्त्री पद बाट राजीनामा दिएको बताएकी छिन ।

मुख्यमन्त्री हिकमत कार्कीलाई राजीनामा बुझाउँदै लिम्बुले  पहिचान पक्षधरलाई पेलेपछि राजीनामा दिन बाध्य भएको बताइन् ।मुख्यमन्त्री कार्कीले नामकरणपछि उत्पन्न समस्यालाई समाधान गर्न चासो नदिएको उनको आरोप छ । ‘वार्ता समिति बनाएर समस्या समाधान गर्न मुख्यमन्त्री कार्कीलाई पटक–पटक आग्रह गरे पनि कुनै चासो देखाउनुभएन,’ लिम्बुले भनिन्, ‘यो सरकारमा बसेर पहिचानका कुरा उठाउन नसकिने निष्कर्ष निकालेर सरकारबाट बाहिरिएको हुँ ।’

पछिल्लो समय आन्दोलनकारीको निसानमा समेत आफू परेको लिम्बुले बताइन् । गत आइतबार ‘यो निर्मला बस्ने मन्त्रालय होइन’ भनेर मेरै कार्यकक्षमा ताकेर आन्दोलनरत पहिचानवादीहरूले ढुंगामुढा गरेको उनले बताइन् ।

‘सरकारमा बसेर आफ्ना माग सम्बोधन गर्न नसकेको भन्दै पहिचान पक्षधर साथीहरूले मलाई नै तारो बनाउनुभयो,’ लिम्बुले भनिन्, ‘तर म एक्लो सांसदले केही गर्न सक्ने अवस्था थिएन । सरकारले पनि निर्मलाले सरकार छाड्दा अल्पमतमा परिँदैन भनेर कुनै चासो देखाएन ।’

शान्तिपूर्ण आन्दोलनमा सरकारले नै दमन गरेको लिम्बुको आरोप छ । प्रदेश सरकारले मंगलवार मात्रै आन्दोलनरत पक्षसँग वार्ताका लागि आह्वान गरेको थियो तर वार्ता समिति गठन गरिएको छैन ।

मुख्यमन्त्री हिकमत कार्कीले सरकारले वार्ताका लागि आह्वान गरेकाले सरकारसँगै वार्ता गर्नुपर्ने बताउँदै आएका छन् । ‘पहिचान सहितको संघीयतालाई टेकेर नामकरण गर्नुपर्ने भए पनि त्यसको उल्टो भयो । ‘कोशी’ प्रदेश भयो । नाम पहिचानको विरुद्धमा आएपछि म सरकारमा रहनुको कुनै औचित्य नै देखिनँ । नामकरण लगत्तै राजीनामा दिन खोजेको थिएँ तर नेताहरूले केही दिन पर्खनु भनेकाले अहिलेसम्म पर्खेकी हुँ,’ उनले भनिन् ।

बुधबार, १७ जेठ, २०८०, साँझको ०७:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर