विराटनगरमा सुरक्षा व्यवस्था कडा : धमाधम आन्दोलनकारी पक्राउ

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीबाट प्रहरीले घरेलु हातहतियार बरामद गरेको दाबी गरेको छ । आन्दोलनमा उत्रिएका केही आन्दोलनकारीबाट गुलेली र ढुंगाहरू बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।

प्रहरीले किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जिवन हताजु राईसहित ३० जना आन्दोलनकारीलाई पक्राउ गरेको छ । उनीहरू प्रदेशसभा घेराउ गर्ने उद्देश्यले जम्मा भएका थिए । प्रहरीले प्रदेशसभा अगाडी र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वरीपरिको क्षेत्र सुरक्षा अवस्था कडा बनाएको छ । ‘आन्दोलनकारीको रणनीतिक योजनाहरू हामीले जानकारी पाएका छौं,’ मोरङ प्रहरी प्रमुख एसपी पोखरेलले भने, ‘हामीले पनि त्यही अनुसार सुरक्षा व्यवस्था अपनाएको छौं ।’ शान्ति सुरक्षा कायम गराउँदै जनधनको क्षति हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिने उनले बताए । ‘जिल्लाबाट मात्र नभएर प्रदेश प्रहरी, गण र तालिम केन्द्रहरूबाट थप मद्दत आउनेछ । सशस्त्र प्रहरी पनि त्यही संख्यामा परिचालन हुनेछ,’ एसपी पोखरेलले भने ।

कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएका विभिन्न पहिचान वादी पार्टी र सङ्घ संस्थाले प्रदेश सभा घेराउको कार्यक्रम राखेका छन् । उनीहरूले शनिवार बाटै विराटनगरमा प्रदर्शन गर्दै आएका छन् । विराटनगरमा हुने प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट नेता पहिचान वादी सङ्घ संस्थाका नेता तथा कार्यकर्ताहरू विराटनगर केन्द्रित भएका छन् । शनिवार बाटै प्रदेश सभा सचिवालय आसपासका क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।

 

आइतबार, १४ जेठ, २०८०, बिहानको १०:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर