कोशी प्रदेशमा कार्की नेतृत्वको सरकारको आयु प्रचण्डको हातमा

विराटनगर । कोशी प्रदेश सरकारको समर्थन फिर्ता लिन भन्दै काँग्रेसले माओवादी केन्द्रलाई मंगलबार पत्र पठाएको छ । उक्त पत्र पठाएसँगै हिक्मतकुमार कार्की नेतृत्वको सरकार भविष्यलाई लिएर विभिन्न अड्कलबाजी भइरहेको छ ।

यद्यपि माओवादी केन्द्र कोशी प्रदेशले भने प्रधानमन्त्री प्रचण्डको निर्देशन नआएसम्म केही नहुने जनाएको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले काँग्रेसको पत्रबारे प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाललाई जानकारी गराउने र आएको निर्देशन बमोजिम निर्णय गर्ने बताएका छन् । ‘काँग्रेस संसदीय दलबाट आएको पत्र पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई जानकारी गराउँछु,’ उनले भने, ‘गठबन्धनको शीर्ष तहमा हुने सहमति र समझदारीलाई माओवादी प्रदेश संसदीय दलले कार्यान्वयन गर्छ ।’स्रोतले जनाए अनुसार नक्कली भुटानी शरणार्थी प्रकरण अदालतमा दर्तापछि मात्रै कोशी प्रदेश सरकार निर्माणको विषयमा शीर्ष नेताबीच छलफल हुनेछ । अहिले शरणार्थी प्रकरणले काँग्रेस सभापति शेरबहादुर देउवा अन्य कुरा छलफल गर्ने मुडमा नरहेको बताइन्छ । तर, प्रधानमन्त्री प्रचण्डले लिने पहल र निर्देशनले नै कोशी प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान सरकार टिक्ने र फालिने देखिन्छ ।

नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्रलाई कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन पत्र पठाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा काँग्रेस संसदीय दलको तर्फबाट नेता उद्धब थापाले माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मंगलबार पत्र लेख्दै गठबन्धन दलहरुको सरकार निर्माण गर्ने वातावरण तयार गर्न आग्रह गरेका हुन् ।

‘संघीय सरकार र ६ वटा प्रदेश सरकारमा हालको गठबन्धन अनुसार नै सरकार गठन भइसकेको अवस्थामा गठबन्धन दलहरुको मर्म र भावना अनुरुप कोशी प्रदेशमा संघीय गठबन्धन अनुरुप नै सरकार गठन गर्नको लागि गठबन्धन दलहरुबाट सरकारलाई दिएको समर्थन फिर्ता लिन अनुरोध गर्ने नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलको मिति २०८०÷०२÷०४ को निर्णय बमोजिम तपाईहरुको दलबाट हालको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरी गठबन्धन दलहरुको सरकार निर्माण गर्ने वातावरण तय गर्नुहुन आग्रह गर्दछु,’ काँग्रेस नेता थापाले लेखेको पत्रमा उल्लेख छ ।

काँग्रेसले २०७९ सालको आम निर्वाचनमा विभिन्न राजनीतिक दलहरु मिलेर गठबन्धन गरी निर्वाचन लडेको विषय पनि उल्लेख गर्दै भनेको छ, ‘निर्वाचनको परिणाम पछि गठबन्धन दलमा केही मतभेद देखापरि गठबन्धन दलमा केही फेरबदल भई सम्माननीय राष्ट्रपतिको निर्वाचन अघि पुनः गठबन्धन दलहरु एकै ठाउँमा उभिएको कुरा समेत जगजाहेर छ ।’

तर, संसदको अंकगणितको अप्ठ्यारोका कारण केन्द्रीय सरकारको गठबन्धनमा रहेका दलहरु प्रदेशमा तत्काल अर्को सरकार बनाउन सहज अवस्थामा छैनन् । जसको कारण तत्कालै कुनै निर्णय हुने गाह्रो भएको गठबन्धनकै कतिपय नेता बताउँछन् ।

कोशी प्रदेशमा नेपाली काँग्रेसका २९, माओवादी (सभामुख सहित) १३, नेकपा एकीकृत समाजवादी ४ र जसपाका १ सांसद छन् । सरकार बनाउनका लागि ४७ सांसद चाहिन्छ । चार दलका सांसद जोड्दा ठिक्क ४७ मात्रै पुग्छ । सरकार गठनको लागि बहुमत संख्या पुगेपनि विश्वासको मत हाल्ने बेलामा सभामुखको गणना नहुँदा सरकारलाई आवश्यक बहुमत पुग्दैन । उता, एमालेको ४० र राप्रपाको ६ हुँदा पनि प्रदेशको सरकार बन्ने अवस्था रहँदैन । जसको कारण प्रदेशसभा नै विघटनतर्फ जानसक्ने सबै दललाई डर छ । सोही डरका कारण केन्द्रीय नेताले पनि तत्कालै कुनै निर्देशन गरिहाल्ने अवस्था देखिँदैन ।

काँग्रेस संसदीय दलका नेता उद्धब थापा, माओवादी दलका नेताआङ्बोलगायतले राप्रपाले एमाले गठबन्धन छोडेर आफ्नो गठबन्धनमा आउने आशा गरेका छन् । तर, राप्रपाले तत्काल कुनै ग्रिन सिग्नल दिएको छैन । राप्रपा फकाउनका लागि पनि केन्द्रका शीर्ष नेताहरुले पहल गरिदिनुपर्ने प्रदेशका नेताको आशा देखिन्छ । जुन आशा अनुसार शीर्ष नेताबाट ठोस पहल भएकै छैन ।

बिहिबार, ११ जेठ, २०८०, बिहानको ०८:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर