भ्रष्टाचारमा जेल बसेका जेपी गुप्ता भन्छन्, ‘छानीछानी अभियोग र फैसला नहोस्’

प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै उनी भन्छन्, ‘अख्तियारलाई प्रयोग गरेर पालैपालो एक अर्काका विरूद्ध ‘अकूत सम्पति आर्जन तथा अस्वभाविक विलासी जीवनशैली उपभोग गरिरहेको’ आरोपमा मुद्दा चलाउनोस् ।’

विराटनगर । अवैध असुली धन्दा चलाउँदै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खेलमा पूर्व उपप्रधानमन्त्रीदेखि बाहलवाला सचिवसम्म गिरफ्तारी अहिले चर्चामा छ । पक्राउ परेकाहरूसँग बयान लिने र अनुन्धान गर्ने काम अझै भइरहेको छ । प्रहरीले आज सरकारी वकिलको कार्यालयमा यो काण्डको विषयमा प्रतिवेदन पनि बुझाउँदैछ । धेरैको ध्यान खिचेको यो काण्ड जस्तै विगतमा ठूला नेता पक्राउ गरेको र जेल गएको अर्को काण्ड थियो, ‘लाभको पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको ।’

उक्त काण्डमा तत्कालीन बाहलवाला सञ्चारमन्त्री जयप्रकाश गुप्ता, पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्वमन्त्री चिरञ्जीवि वाग्लेलगायत थिए । गुप्तालाई भ्रष्टाचारी करार गरी २०६८ फागुन ९ गते सर्वोच्च अदालतले जेल पठाएको थियो । अदालतको फैसलामा गुप्ताले सार्वजनिक पदमा छँदा ८४ लाख रुपैयाँ भ्रष्टाचार गरी कमाएको र उक्त रकमको कुनै स्रोत खुलाउन नसकेको ठहर गर्दै त्यति नै रकम जरिमाना र डेढ वर्ष कैद हुने फैसला सुनाएको थियो ।

उनीविरुद्ध पदीय दुरुपयोग गरी दुई करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको अभियोग लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा २०५९ सालमा गुप्ता विरुद्व विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

यस्तै काँग्रेस नेता पूर्वगृहमन्त्री खुमबहादुर खड्कालाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद, ९४ लाख ७५ हजार रुपैयाँ जरिवाना, त्यही बराबरको विगो र त्यसले बढे बढाएको सम्पत्ति जफत गर्ने फैसला सुनाएको थियो ।

यस्तै काँग्रेसकै नेता चिरन्जीवि वाग्लेलाई पनि २०६७ चैत्र २ गते सर्वोच्च अदालते भ्रष्टाचार गरेको प्रमाणित गर्दै २ करोड तीन लाख जरिवानासहित १८ महिना जेलबासको फैसला सुनाएको थियो । यी फैसला नेपालको इतिहासमा भ्रष्टाचारको मुद्दामा जेल जाने उच्च ओहोदाका मानिस थिए । त्यसलाई माथ खुवाउने गरी अहिले पूर्व उपप्रधानमन्त्री, निवर्तमान गृहमन्त्रीसहितलाई नक्कली शरणार्थी काण्डमा पक्राउ गरिएको छ । यो विषयमा आफूलाई जस्तै छानविन र कारबाही हुनुपर्ने तथा उनीहरुको सम्पत्ति पनि जफत गर्नुपर्ने धारणा गुप्ताले सार्वजनिक गरेका छन् ।

भ्रष्टाचारविरुद्ध सरकार निर्मम हुन्छ भन्ने प्रधानमन्त्री प्रचण्डको समाचार शीर्षक शेयर गर्दै गुप्ताले उक्त समाचारप्रति विश्वास व्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘खुमबहादुर खड्का र मेरो मुद्दामा सर्वोच्च अदालतले सम्पत्ति मूल्याङ्कनको जुन आधार कायम ग¥यो, सोही आधारलाई सम्पत्ति मापनको अकाट्य आधार कायम गर्न संसदबाट विधेयक पारित गरी कानुनी मान्यता दिलाइदिनोस् !’ उनले अख्तियारलाई प्रयोग गरेर पालैपालो एक अर्काका विरुद्ध ‘अकूत सम्पति आर्जन तथा अस्वभाविक विलासी जीवनशैली उपभोग गरिरहेको’ आरोपमा मुद्दा चलाउनु पर्नेमा पनि जोड दिएका छन् ।

पहुँचवालालाई बाँडियो साढे ५ करोड उपचार खर्च भन्ने शीर्षकको समाचार शेयर गर्दै त्यस विषयमा पनि आफू जेल पठाएको स्मरण गर्दै त्यसको विरोध गरेका छन् । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदमा गरेको सम्बोधनलाई उल्लेख गर्दै उनले छानविनको दायरामा परेका मानिसको सम्पत्ति मूल्यांकनको कानुनी मापन हुनु अनिवार्य रहेको उल्लेख गरेका छन् ।

‘संसदमा राष्ट्रपतिको सम्बोधनमार्फत सरकारले अगामी आर्थिक वर्षदेखि ‘उच्च ओहोदामा बसेका’ व्यक्तिको गैर कानुनी सम्पत्ति छानविन गर्ने घोषणा गरेको छ ।  कुरो स्वागतयोग्य हो,’ उनले भने, ‘तर, कुनै ओहदावाला व्यक्तिको सम्पत्ति ‘गैर कानुनी’ छ भनी ठह¥याउने कसरी ? यसका लागि आरोपित व्यक्ति वा छानविनको राडरमा परेका व्यक्तिको सम्पत्तिको मूल्यांकनको कानुनी मापन हुनु अनिवार्य हुन्छ ।’

उनले कर्मचारी वा सार्वजनिक पदाधिकारी कुनै व्यक्तिको आयको कति प्रतिशतलाई बचत वा कतिलाई खर्च मान्ने ? भन्ने प्रश्न पनि गरेका छन् । ‘अख्तियारलाई मन लागेमा कसैको आर्जनको ७० प्रतिशतलाई बचत भन्छ । उसको बचतलाई बढाएर मुद्दाबाट उन्मुक्तिको जुक्ति खेल्छ । फेरि कोहीलाई फसाउनु छ भने उसको जीवनशैली विलासी प्रकारको भएकोले ७० प्रतिशत खर्च तथा ३० प्रतिशतलाई बचत भन्छ,’ उनले भनेका छन्, ‘खुमबहादुर खड्काको मुद्दामा यही भएको उदाहरण छ ।’

गुप्ताले अहिले पक्राउ गरेका काँग्रेस नेता तथा निवर्तमान गृहमन्त्री खाण, एमाले नेता रायमाझीलगायतप्रति टिप्पणी गर्दै व्यंग्य पनि कसेका छन् । ‘सर्प पालन, ललिता निवास आदि अहिले एमालेको दायित्वमा परेन । विष्णु पौडेल, भानुभक्त, अनि पोखरेल आदि ‘वासिङ् मेसिन’बाट निकालिएका भए । सफा र स्वच्छ भएका छन्,’ उनी अन्य भ्रष्टाचार काण्डको विषयमा उल्लेख गर्दै व्यंग्य कस्छन्, ‘एमालेले नै प्रेम राईलाई अख्तियार प्रमुख बनायो । राईले नक्कली शरणार्थीको किटानी निवेदनलाई मुल्तवी राख्यो । अहिले सोही व्यहोराको निवेदन उपर यत्रो रडाँको मच्चिएको छ । टोपबहादुरबारे ओली जीले प्रचण्डलाई भेटी दबाव दिए । सांसद भागेर जाने हो र ? कोइरी बेपत्ता भएको थोरै पनि हेक्का नराखी ओलीले टोपबहादुरको प्रतिरक्षा गरे । रायमाझी बेपत्ता भएको थोरै पनि नैतिक दायित्व लिन आज ओली तयार छैनन् । बरू एमालेको वक्तव्यमा एमाले पार्टी यस्ता कृत्यको विरोधमा हिमाल जस्तो ठिङ्ग उभिएको पार्टी हो भन्यो ।’

भ्रष्टाचारको मुद्दालाई ‘पाँच वर्षको हद म्यादभित्र भ्रष्टाचारको कारबाही गर्नुपर्ने नत्र नगर्ने’ भन्ने नयाँ प्रावधान राखेर राष्ट्रिय सभाले विद्यमान कानुनमा संशोधन गरी प्रतिनिधिसभा समक्ष पठाएको विषयमा पनि उनले टिप्पणी गरेका छन् । गुप्ता मोरङ विराटनगर–१० मा बसोबास गर्छन् । उनले कटहरीस्थित थलाहामा ठूलो कृषि फर्म संचालन गरेका छन् ।

मङ्गलबार, ०९ जेठ, २०८०, बिहानको ०७:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर