विवादित मोरङ कारागारका जेलर कोइरालाको इलाम सरुवा

विराटनगर । मोरङ कारागारका विवादित जेलर धुब्रप्रसाद कोइरालाको सरुवा भएको छ । यहाँका कैदीबन्दीहरुलाई अनावश्यक दुःख दिने गरेको आरोप लागेको कोइरालाको जिल्ला प्रशासन कार्यालय इलाममा सरुवा भएको हो ।

गृह मन्त्रालयको सचिव स्तरको बुधवारको निर्णय अनुसार कोइरालालाई सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा इलामा सरुवा भएका हुन् । उनको ठाउँमा को जेलर आउने अहिलेसम्म टुङ्गो लागेको छैन ।

बिरामी भएर उपचारमा जान खोज्दा जेलर कोइरालाले रकम माग्ने गरेको यहाँका कैदीबन्दीहरुको आरोप छ । उपचारका लागि जान समेत नदिने गरेकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनीहरूको गुनासो छ । उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर कोइरालाविरुद्ध आन्दोलनमा उत्रिएका थिए । निरन्तर आन्दोलनमा उत्रिएको कारणले जेलर कोइरालाको सरुवा भएको बताइएको छ ।

उनीहरूले ‘घुस खोर, भ्रष्ट्राचारी, कमिसन खोर जेलर चाहिँदैन, उपभोग्य बस्तु खरिद गर्न चौकीदारलाई बाहिर जान दिनपर्छ, मोरङ कारागारबाट भ्रष्ट्राचार जेलरको तत्काल सरुवा गर, कारागारभित्र आउने र कारागारबाट जाने उपभोग्य बस्तुमा जेलरले कमिसन माग्न पाइँदैन, उपचार गर्न जाँदा रकम माग्न पाइँदैन, लगायतका नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका थिए ।
केही दिन अगाडी १२ जना कैदीबन्दीहरूले उपचारको लागि सहजीकरण गरिदिन माग राख्दै मानव अधिकार आयोग, नेपाल पत्रकार महासङ्घ कोसी प्रदेश सहित आधा दर्जन बढी निकायमा पनि पत्र पठाएका थिए ।

बिहिबार, ०४ जेठ, २०८०, साँझको ०७:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर