विराटनगरका प्रमुख प्रशासकीय अधिकृत कोइरालाको विदाई

विराटनगर । सरुवा भएका विराटनगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई महानगरपालिकाले विदाई गरेको छ ।

औपचारिक कार्यक्रम गरेर महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत कोइरालाको विदाई गरेको हो । कार्यक्रममा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले खादा र अविर लगाएर विदाई गरेका थिए ।

मेयर कोइरालाले कर्मचारीहरुको सरुवा नियमित प्रक्रिया भए पनि प्रमुख प्रशासकीय अधिकृतका रुपमा विष्णुप्रसाद कोइरालाले विराटनगरमा छुट्टै छाप छाडेर गएको बताए । उनले महानगरको कर्मचारी संयन्त्रलाई कोइरालाले चलायमान बनाउनुका साथै छोटो समयमा निकै महत्वपूर्ण काम गरेको स्मरण गरे । उपमेयर कार्कीले पनि प्रमुख प्रशासकीय अधिकृत कोइरालालाई महानगरपालिकाले सँधै सम्झिरहने बताइन् ।

उनले वर्षौंदेखि हुन नसकेका कामहरु पछिल्लो ८ महिनामा भएको उल्लेख गरिन् । कार्यपालिका सदस्यहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले प्रमुख प्रशासकीय अधिकृतका रुपमा कोइरालाले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको बताए । प्रमुख प्रशासकीय कोइरालाले विराटनगरलाई आफूले कहिल्यै बिर्सन नसक्ने प्रस्ट गरे । उनलाई कार्यपालिका सदस्य र कर्मचारीहरुले खादा र अविर लगाएर विदाई गरेका थिए । कोइराला कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा हुनु भएका छन् । कोइराला ८ महिनाअघि विराटनगर महानगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका थिए ।

यसैबीच, प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आउनु भएका राजेन्द्र पराजुलीलाई आजै महानगरपालिकाले स्वागत गरेको छ । पराजुलीलाई पनि मेयर कोइराला र उपमेयर कार्कीले खादा र माला लगाएर स्वागत गरेका थिए ।

सोमबार, ०१ जेठ, २०८०, साँझको ०७:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर