गाडीको ग्रह दशा कटाउन भन्दै कोशी प्रदेश मुख्यमन्त्री कार्यालयमै बोकाको बली !

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा गाडीको दशाग्रह कटाउन भन्दै बोका काटेर भोज गरिएको छ ।

शनिवार बिहान बोका काटेर भोज मनाइएको हो । कर्मचारीहरूले सामाजिक संजाल फेसबुकमा भिडियो लाइभ नै गरेर भोज मनाएका हुन् । भिडियो लाइभमा एक जना पुरोहितले शंख घण्ट बजाएर पूजा पाठ गरेको देखिन्छ भने केही कर्मचारीहरू बोका काट्नका लागि पानी छम्कँदै गरेको देखिएको छ । पानी छम्कँदै गरेको र काट्नलाई ठिक्क पारेको लाइभ गरिएको भिडियोमा प्रस्ट देख्न सकिन्छ । त्यसपछि भने लाइभ हटाइएको छ । मुख्यमन्त्री कार्यालयको पछाडि पट्टिको भागमा पूजा गरेर भोज मनाइएको हो ।

मुख्यमन्त्री कार्यालयले भने गाडी पूजा गरेको बताएको छ । मुख्यमन्त्री कार्यालयमा भएका गाडीहरूले अनियन्त्रित भएर अन्य सवारी साधनलाई ठक्कर दिन थालेपछि पूजापाठ गरेर स्वस्ती शान्ति गरिएको जिन्सी शाखाका कर्मचारी किरण ढकालले बताए ।

‘गाडीहरू अनियन्त्रित भएको भनेर गुरु (ड्राइभरहरूले) सचिव ज्यूसँग भन्नु भएछ,’ जिन्सी शाखाका कर्मचारी किरण ढकालले भने, ‘सचिव ज्युले कार्यालयबाट केही गर्न मिल्दैन भनेपछि उहाँहरूले आफैंले खर्च जुटाएर गर्नु भएको रहेछ ।’

मुख्यमन्त्री कार्यालय भने ड्राइभरलाई देखाएर पन्छिन खोजेका छ । केही कर्मचारीहरू समेत पूजामा संलग्न भएको भिडियोमा प्रस्ट देख्न सकिन्छ । बोका किन्न भने कार्यालयले नै बजेट विनियोजन गरेको कार्यालयकै एक कर्मचारीले बताए ।

‘दसैँमा भने सबै सरकारी कार्यालयमा ग्रह दशा पूजा भनेर बोकालाई बलि चढाउने प्रचलन छ, ति कर्मचारीले भने, ‘पहिला पहिला हल्ला हुन्छ भनेर गुप चुपमै गर्ने गरिन्थ्यो । तर आज लाइभ भएकाले सबैले थाहा पाए ।’

ती कर्मचारीका अनुसार मुख्यमन्त्रीको निवास, गाडी पूजा, सुरक्षाकर्मी बस्ने ब्यारेकमा पूजा गर्नका लागि कार्यालयले मिलाएर बजेटको व्यवस्थापन गर्ने गरेको छ । गाडी पूजा भने विश्वकर्मा पूजा अर्थात असोज १ गत गर्ने चलन रहेको छ ।

शनिबार, २७ फागुन, २०७९, साँझको ०६:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर