प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव विप्लवबीच भेट, एकताको आधार तयार पार्ने समझदारी

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेता खड्गबहादुर विश्वकर्माले राजनीतिक भेटघाट गर्नुभएको छ।

नेताहरूले आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक छलफल गरेका हुन् । छलफलमा माओवादी धाराका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकताबारे नेताहरूबिच गहन छलफल भएको छ। सो क्रममा तत्काल समाजवादी शक्तिहरूबीच साझा मोर्चा र कार्यक्रम बनाएर सहकार्य गर्दै भविष्यमा एकताको आधार तयार पार्नेबारे समझदारी भएको छ।

माओवादी धाराहरू एक ठाउँमा उभिँदा परिवर्तनका मुद्दा प्रभावकारी ढंगले कार्यान्वयन गर्न सजिलो हुने र अन्य वामपन्थीहरूबिच सहकार्य र एकताको वातावरण तयार हुनेमा नेताहरू एकमत भएका छन् ।

भेटका क्रममा नेकपाका नेताहरूले अघिल्ला सरकारहरूसँग भएका सहमति कार्यान्वयनमा सरकारको धारणाबारे चासो राखेका थिए । सो क्रममा प्रधानमन्त्रीले विगतका सरकारले गरेका सबै सहमति कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै बन्दीहरू रिहाइका लागि सरकारको तर्फबाट पहल भइरहेको जानकारी दिए ।

आइतबार, २२ माघ, २०७९, रातीको ०८:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर