विराटनगर । प्रदेश १ का नवनिर्वाचित सभामुख बाबुराम गौतमले पद तथा गोपनियताको शपथ खाएका छन् । उनलाई प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा शपथ खुवाएका हुन् ।
शपथग्रहण कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीहरु, संसदीय दलका नेता, सांसद, पूर्व सभामुख, उपसभामुखलगायतको उपस्थिति थियो । सभामुख भएपछि उनले प्रदेश १ लाई बलियो बनाउने गरी अगाडि बढ्ने बताए । ‘प्रदेशलाई बलियो बनाउने गरी अगाडि बढ्छु । प्रदेशको नामाकरणको विषयलाई टुंगो लगाउन प्रयास गर्छु,’ उनले सञ्चारर्कीलाई प्रतिक्रिया दिँदै भने, ‘म मेरो ठाउँबाट यो पदलाई न्याय गर्छु । यो भूमिका लागि म योग्य छु ।’
शपथग्रहण लगत्तै आजै उनले प्रदेशसभाको तेस्रो बैठक संचालन गरेका छन् । बैठक संचालनका क्रममा उनले प्रदेशसभाको सभामुख पदको गरिमालाई आँच आउन नदिने गरी काम गर्ने कुरामा सभालाई विश्वास दिलाए ।
त्यसक्रममा उनले आफ्नो दलको सदस्यताबाट राजीनामा पनि दिएका छन् । ‘सभाको निष्पक्षतामा काम गर्नका लागि आफ्नो दलबाट आजैका मितिदेखि राजीनामा दिएको छु,’ उनले भने ।
उनले उपसभामुखको निर्वाचन २०७९ पुस ३० गतेका लागि तोकेका छन् । त्यसका लागि उपसभामुखको मनोनयन भोली हुनेछ । भोली (शुक्रबार)को बैठकमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यक्रम छ ।