विराटनगर । प्रदेश १ मा नेपाली कांग्रेसकी प्रदेश सांसद बिन्दिया कार्कीको पहलमा कोशी अस्पतालमा बिरामी र तिनका परिवारलाई साँझको खाना खुवाउन शुरु गरिएको छ ।
अस्पतालमा उपचार गराउन भर्ना भएका बिरामी र कुरुवालाई सांसद कार्कीको पहलमा सोमबारबाट खाना खुवाउन थालिएको हो ।
सांसद कार्कीका अनुसार कोरोना रोग जोखिमका कारण देश लकडाउनमा गएपछि कोशी अस्पतालमा अन्य रोगको उपचारमा आई भर्ना भएका बिरामी र कुरुवा आफन्त समस्यामा परेका छन् । अस्पतालको क्यान्टिनले समेत बिरामी बाहेककाहरुलाई माग भएजति खाना खुवाउन नसक्ने जनाउ दिएपछि बिरामी र कुरुवा समस्यामा रहेको बेला कार्कीले खाना खुवाउन सुरु गर्नुभएको हो ।
सोमबार पहिलो दिन कार्कीले पहिलो दिन दुई सय जनालाई खाना खुवाएको बताउनुभयो । यो अभियानमा नेपाल मोरङ र तरुण दल विराटनगरले पनि साथ दिएका छन् । तरुण दलका जिल्ला अध्यक्ष संजय थापा, उपाध्यक्ष खेम थापा, कोषाध्यक्ष अनिल रिजाल, विराटनगर अध्यक्ष सन्तोष न्यौपाने र नेविसंघका पूर्व सहमहामन्त्री कृष्ण कार्कीलगायतले सहयोग गरेका छन् ।
पहिलो दिन अस्पतालमा खटिएका स्वास्थ्यकर्मीलाई पनि प्याक गरिएको खाना वितरण गरिएको सांसद कार्कीले जानकारी दिनुभयो बाहिरबाट नै मेसमा खाना बनाएर प्याक गरि ल्याएर खुवाउने पहल भएको हो ।