इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटिले उपमहानगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा ४ लाख ५५ हजार नगद र २ हजार किलो चामल प्रदान गरेको छ ।
कोरोना भाइरसको जोखिम कम गर्न लागू गरिएको लकडाउनको कारण समस्यामा परेका विपन्न तथा मजदुर परिवारलाई राहत वितरण गर्न उपमहानगरले स्थापना गरेको कोषमा नेकपाले सहयोग गरेको हो ।
मंगलवबार पार्टीले उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीलाई सो राहत प्रदान गेको थियो । लडाउनका बेला अति विपन्न परिवारलाई भोकै नराख्ने उद्धेश्यले उपमहानगरले स्थापना गरेको कोषमा सहयोग गरेको नेकपा उपमहानगर कमिटि सहइञ्चार्ज भीम सुवेदी सागरले बताउनुभयो ।
कोरोना भाइरस कोभिड १९का कारण नेपाल लकडाउन भएकाले आफ्ना उपमहानगरका नागरिकलाई इटहरी उपमहानगरपालिकाले राहत वितरण गरिरहेको छ । नेकपा इटहरीले आफ्ना नेता तथा कार्यकर्ताबाट सङ्कलन गरी राहत उपलब्ध गराएको हो ।
इटहरीमा दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै बसोबास गर्ने विपन्न परिवारको सङ्ख्या ठूलो रहेकोले उनीहरुको लागि सहयोग गरेको नेकपा इटहरीका अध्यक्ष बहादुरसिंह तामाङले जानकारी दिनुभयो ।