काठमाडौं । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले वैशाख ३ गतेसम्म लकडाउन अवधि थप गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधि लम्बाउने निर्णय गरेको हो ।
कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्दै सरकारले थप लकडाउन अवधि बढाएको हो। गत शनिबार एकबाट अर्को व्यक्तिमा कोरोना संक्रमण नतिजा सार्वजनिक भएसँगै थप चुनौती थपिएको छ।
यसअघि सरकारले चैत ११ गतेदेखि लागू एक हप्ता लकडाउन गरेको थियो। त्यसपश्चात पनि चैत १८ गते थप एक हप्ता लकडाउन गर्ने घोषणा गरेको थियो। दोस्रोपटक थप गरेको अवधि मंगलबार सकिनलाग्दा सरकारले फेरि लकडाउन अवधि थप गरेको हो।
सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा कडाइ गरेको छ ।
हालसम्म नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन्। एक जना उपचार पछि फर्किसकेका छन् भने ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बैठकले संसदको जारी हिउँदे अधिवेशनको अन्त्यका लागि राष्ट्रपतिलार्ई सिफारिस गर्ने निर्णयसमेत गरेको छ। कोरोना भाइरसको जोखिम बढेसँगै प्रतिनिधिसभा बैठक चैत ७ गतेयता बस्न सकेको छैन । १३ र २३ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर ३० गतेका लागि बोलाइएको थियो ।
राष्ट्रबैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा.राजन खनालको नाम सिफारिस गरेको थियो ।
गभर्नर नियुक्त अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । राष्ट्रबैंककै डेपुटी गभर्नरबाट अवकास पाएका अधिकारीसँग राष्ट्र बैंकमा ३ दशक काम गरेको अनुभव छ ।