अटल फार्मेसीको ठगीधन्दा : ६२२ को ‘इन्सुलिन’ ९९६ मा बिक्री

विराटनगर । विराटनगरस्थित अटल फार्मेसीले विरामी ठगेको घटना बाहिरिएको छ । मधुमेहका विरामीले प्रयोग गर्ने ‘ह्युमन इन्सुलिन’ ३०÷७० नामको खोप बिक्री गर्दा अटल फार्मेसीले ठगी गरेको प्रमाण भेटिएको हो ।

मधुमेहका विरामीले प्रयोग गर्ने इन्सुलिन अटल फार्मेसीले ३ सय ७४ रूपैयाँ बढी मुल्य लिएर विरामीलाई बिक्री गरेको भेटिएको छ । उक्त इन्जेक्सनको नेपाली बजार मुल्य ६ सय २२ रुपैयाँ छ । तर, अटल फार्मेसीले विरामीसँग भारतीय एमआरपी भन्दै ९ सय ९६ रूपैयाँ लिएर बिक्री गर्ने गरेको प्रमाण फेला परेको हो ।

बजार मूल्य भन्दा ३ सय ७४ रूपैयाँ बढी विरामीबाट असुली गरेको बिलसहित पब्लिक फोरमले बिहीबार वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयमा ठगीमा उजुरी दर्ता गराएको छ । अटल फार्मेसीले बदनियतपुर्वक विरामी ठगी गरेको हुनाले उपभोक्ता संरक्षण ऐन २०७५ र यसको नियमावली २०७६ बमोजिम कारबाही गरिनुपर्ने माग राख्दै वाणिज्यमा उजुरी दर्ता गराएको पब्लिक फोरम नेपालका अध्यक्ष उत्तम ढुंगेलले बताए ।

‘विराटनगरका अरू फार्मेसीहरूमा सुगरका विरामीले प्रयोग गर्ने इन्जेक्सन ६२२ रुपैयाँमा पाइन्छ । तर, भारतीय एमआरपी जोडेर अटलले ९ सय ९६ रूपैयाँ लिएपछि दसीसहित हामीले कारवाहीको लागि उजुरी दिएका हौं,’ उनले भने, ‘सम्बन्धित निकायले तत्काल अनुसन्धान गरी उपभोक्तालाई ठगी गर्ने फर्मलाई कारवाहीको दायरामा तत्काल ल्याउनुपर्दछ ।’ विरामी र उपभोक्तामाथि ठगी गर्ने जोकोहीलाई पनि कारवाहीको दायारामा ल्याउनुपर्ने उनले बताए ।

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख ईश्वर आचार्यले पनि ठगीमा उजुरी आएपछि दर्ता गरेर अनुसन्धान सुरू गरेको बताए । ‘अहिले उजुरी आएको छ ,’ उनले भने, ‘अहिले उजुरी दर्ता गरी हामी अनुसन्धान सुरू गर्नेछौं । बढी मुल्य लिएको पाइए कानुन अनुसार कारवाही गर्नेछौं ।’

यता अटल फार्मेसीले स्टाफबाट गल्ती भएको बताएको छ । अटल फार्मेसीका संचालक राजु अटलले कर्मचारीको प्राविधिक गल्तीले बढी पैसा लिन गएको स्वीकार गरेका छन् । ‘तीन वटा फार्मेसी रहेकामध्ये दुई वटामा कम्प्युटरबाट बिलिङ्ग हुने गरेको छ,’ उनले भने, ‘हस्तलिखित बिलिङ्ग गरेको कारणले मुल्य बढी हुन गएछ । हामीले फिर्ता गरिदिने पनि भनेका छौं ।’

विराटनगरमा अटल फार्मेसी तीन वटा रहेको छ । विराटनगरको जलजला मोडमा रहेको फार्मेसीबाट विरामीलाई ठगी भएको हो । यस फार्मेसीले खाद्यपुरक सामाग्री पनि खुलेआम बिक्री वितरण गर्ने गरेको छ । औषधि व्यवस्था विभागले बिक्री वितरणमा प्रतिबन्ध लगाएको खाद्यपुरक सामाग्री यो फार्मेसीले खुलेआम बिक्री गरेको हो ।

 

बिहिबार, २६ साउन, २०७९, साँझको ०७:४६ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर