विराटनगर । सरकारले बिमा सेवा बन्द गरेको नाममा विराटनगरका ठूला निजी अस्पतालले विरामीमाथि ज्यादति गरेका छन् । सरकारले नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेजमा मंगलबारदेखि मात्रै बिमा सेवा बन्द गराएको हो ।तर, सेवा सुचारु रहेका बेला भर्ना हुन आएका बिरामीबाट पनि यी ठूला अस्पतालले पैसा असुलेको पाइएको छ । यसले विरामीहरु मारमा परेका छन् ।
असार २४ गते दुर्घटनामा परेर घाइते भएका विमल खतिवडा त्यही दिन विराट मेडिकल कलेजमा भर्ना भए । काका दुर्गाप्रसादले दुर्घटनामा परेर घाइते भएका भतिजलाई त्यहाँ उपचार गर्न ल्याउनुको कारण थियो, स्वास्थ्य बिमाको सुविधा ।
बिमा मार्फत नै उनले उपचार गराउन थाले । अस्पताल प्रशासन र अस्पतालमै रहेको फार्मेसीले औषधि दिइरहेका थिए । विमलको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आउन थालेपछि चिकित्सकले घर लैजान सुझाव दिए । दुर्गाप्रसाद मंगलवार भतिजलाई डिस्चार्ज गर्नका लागि हिसाब मिलाउन १० बजेतिर फार्मेसी पुगे ।
फार्मेसीले औषधिमा लागेको सबै पैसा मागेपछि उनी झस्के । उनले लगत्तै अस्पताल प्रशासनमा गएर बुझे, अस्पताल प्रशासनले पनि सरकारले नै बिमा बन्द गराएको जवाफ दिए । उनी के गरौं, कसो गरौंको दोधारमा परे ।
यस्तो समस्या उनको मात्रै होइन । दुहबीकै मेनुका दाहालको पनि समस्या दुर्गाप्रसादको जस्तै छ । उनले श्रीमान् बालकृष्ण गौतम सडक दुर्घटनामा परि घाइते भएपछि अस्पतालमा ल्याएकी थिइन । उपचार चलिरहँदा बिमा बन्द भएको र उपचार सुरु गरे देखिकै पैसा तिर्न भनेपछि चिन्ता थपिएको उनले बताइन् ।
‘मैले आजदेखि पैसा तिर्छु भन्दा पनि अस्पताल प्रशासन र फार्मेसीले मानेका छैनन्’, उनले आँखाभरी आँसु पार्दै भनिन् ‘अब मैले कहाँबाट पैसा ल्याउनु ।’
प्रदेश १ का ४ वटा अस्पतालले एक्कासी स्वास्थ्य बिमा बापतको उपचार नगराउने बताएपछि बिरामी समस्यामा परेका छन् । डिस्चार्ज हुने बेला बिमा रोकिएको भन्दै लागेको सबै रकम तिर्न ताकेता गर्न थालेपछि बिरामीहरू थप आर्थिक संकटमा परेका हुन ।
मोरङका दुई वटा र झापाका दुई वटा अस्पतालमा बिरामीलाई थप रकम तिर्न ताकेता गरेका छन् । झापाको विएन्डसी अस्पताल र लाइफ लाइन अस्पताल, त्यस्तै मोरङको नोबेल अस्पताल र विराट अस्पतालले बिमा मार्फत उपचार गराई डिस्चार्ज हुने बेलाका बिरामीलाई बिमा रोकिएको भन्दै थप रकम मागेका हुन् । डिस्चार्ज हुने बेलामा बिमा रोकिएको भन्दै अस्पतालमा लागेको सबै खर्च मागेपछि बिरामीका आफन्तहरू थप समस्यामा परेका छन् ।
नोबेल मेडिकल कलेजमा बिमा गराएकाले ओपिडीमा दैनिक १ हजार दुई सय भन्दा बढिले सेवा लिने गरेका छन् । दैनिक २ सय भन्दा बढी बेड भर्ना हुने खालका बिरामी आउने गरेको डाक्टर राजेश नेपालले बताए ।
गत वर्षकै ७० करोडभन्दा बढी रकम बिमावोर्डले तिर्न बाँकी रहेकाले आर्थिक संकट खेप्न नसकेर बन्द गरेको नेपालले बताए । यस्तै विराट मेडिकलमा ओपिडीमा १ हजार भन्दा बढीले सेवा लिने गरेको विराट मेडिकल अस्पतालका प्रशासन प्रमुख प्रमेशराज देवकोटाले बताए ।
सरकारले बिमा बापतको रकम भुक्तानी लामो समयसम्म रोकेका कारण सेवा दिन समस्या भएको प्रशासन प्रमुख देवकोटाले बताए । सरकारलाई पटक–पटक बिमा गराउन समस्या भएको भन्दै पत्र पठाए पनि त्यसलाई बेवास्ता गरेर सरकारले नै बिमाबाट उपचार गराउन रोक लगाएको उनको भनाइ छ । अस्पतालहरूले बिमा नगराउने भनेर बिमावोर्डलाई पत्र पठाएपछि स्वास्थ्य बोर्डले ४ वटा अस्पतालमा आउने बिरामीको रेफर मोरङको कोसी र सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने गरेको छ ।
स्वास्थ्य बिमा बोर्ड प्रदेश १ का अनुसार १ सय ८ वटा स्वास्थ्य संस्था मध्ये २५ वटा निजी अस्पतालहरूले बिमा कार्यक्रम लागु गरेका थिए । अब ४ वटाले नगर्ने भएपछि २२ वटा निजी अस्पतालहरूले मात्रै बिमाबाट उपचार गराउने छन् । बिमावोर्डले भने ४ वटा अस्पताललाई कालो सूचीमा राख्दै साउन १० देखि बिमाको सुविधा हटाएको छ । प्रदेश १ मा १८ लाख ५२ हजार ८ सय ८३ जनाले स्वास्थ्य बिमा गराएका छन् ।
प्रदेश बिमावोर्डका प्रमुख दुर्गाप्रसाद आचार्यका अनुसार प्रदेशमा झापामा सबैभन्दा बढीले बिमा गराएका छन् भने सबै भन्दा कम सोलुखुम्बुका जनताले बिमा गराएका छन् । झापामा ६ लाख १ हजार ४५ जनाले बिमा गराएका छन् भने सोलुमा ८ हजार ९ सय ४५ जनाले बिमा गराएका छन् । यस्तै भोजपुरमा ३४,३१३, धनकुटामा २८,१७० इलाममा १ लाख २७ हजार ०२८ जनाले बिमा गरेका छन् ।
खोटाङमा ४९ हजार ३सय ४५, मोरङमा ४ लाख १५ हजार ८ सय ८८ र सुनसरीमा ४ लाख २९ हजार १ सय २५ जनाले बिमा गराएका छन् । ओखलढुङ्गामा ३८ हजार ३ सय १० पाँचथरमा २१ हजार ६ सय ११ , ताप्लेजुङमा १२ हजार ४ सय ९८ तेह्रथुममा १२ हजार ५ सय र उदयपुरमा ४५ हजार ५ सय ४ जनाले बिमा गराएका थिए । जसमध्ये १५ लाख ८१ हजार १ सय ७१ जनाले प्रिमियम (पैसा) तिरेर बिमा गराएका छन् । भोजपुर र खोटाङमा भने सरकारले नै लक्षित वर्ग कार्यक्रमसमेत संचालन गरेको छ । यो कार्यक्रममा अति गरिब परिवारलाई निःशुल्क बिमा सरकारले आफै गरिदिने गरेको छ ।
भोजपुर र खोटाङमा २४ हजार १ सय ९८ जना े लक्षित वर्ग अन्तरगत लाभान्वित छन् । स्वास्थ्य स्वयंसेविका परिवारलाई ५० प्रतिशत छुटमा बिमा गर्ने व्यवस्था सरकारले मिलाएको थियो । २० हजार २ सय ६८ जना स्वास्थ्य स्वयम्सेविकाका परिवार छन् । राज्यले नै ज्येष्ठ नागरिकहरूलाई १ लाख मूल्य बराबरको निःशुल्क बिमा गरी दिने गरेको थियो । १ लाख ८३ हजार ४ जना ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको बिमा सरकारले नै गरेको थियो । । ३ हजार ७७ जना एचआइभी सक्रमितको पनि निःशुल्क बिमा गरिएको थियो । १ हजार ५२ जना कुष्ठरोगी र ३९ हजार १ सय ५२ जना पूर्ण अपाङ्ग भएका परिवारका सदस्यको बिमासमेत सरकारले निःशुल्क गरिदिएको थियो ।