विराटनगर । विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्ने भन्दै प्रदर्शन भएको छ ।
विभिन्न पहिचानवादी ३५ संगठनहरुले प्रदेश १ को नाम लिम्बुवान–किरात हुनुपर्ने माग गरेका हुन् । प्रदेशको १ को नामाकरणका लागि भोली शुक्रबार सर्वदलीय छलफल हुँदैछ । उनीहरुले छलफल सर्वपक्षीय हुनुपर्ने माग पनि गरेको छन् ।
प्रदर्शन पछि मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले प्रदेशको नाममा लिम्बुवान नजोडिए ८ प्रदेशको माग गर्दै फरक तरिकाले आन्दोलन गर्ने बताए । संघर्ष समितिका संयोजक प्रेम याक्थुमले आफूहरुको आन्दोलनलाई बेवास्ता नगर्न पनि मुख्यमन्त्रीलाई आग्रह गरे ।
मुख्यमन्त्री राईले भने आफू पनि पहिचान पक्षधर भएको भन्दै खराब नाम आउने अवस्थामा आफूले पनि कदम चाल्ने बताए । ‘खराब नाम आउनु भन्दा नआउदा के हुन्छ ?’, राईले भने, ‘त्यहाँसम्म जान म तयार छु ।’ उनको आशय प्रदेशसभाको अधिवेशन अन्त्य गरिदिने खालको थियो । यसअघि पनि उनले खराब नाम आउने अवस्थामा आफूले पनि संवैधानिक अधिकारको प्रयोग गर्ने चेतावनी दिएका थिए ।