ओली–प्रचण्ड भेटपछि ओम्नीसँगको सम्झौता रद्ध

विराटनगर । चीनबाट विवादित कम्पनीमार्फत गरिएको मेडिकल सामाग्री खरिद सम्झौता नेकपाका दुई अध्यक्षको भेटसँगै रद्ध भएको छ ।

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो भएको भेटसँगै औषधि खरिद सम्झौता रद्ध भएको हो ।

कोरोना संक्रमणको जोखिमबारे पछिल्लो समयमा भइहरेको तयारी र औषधि खरिद प्रक्रियामा देखिएको विवादसहितका विषयमा छलफल गर्न अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । उहाँहरुबीच करिब डेढ घण्टा गम्भीर कुराकानी र अन्य नेताहरुको सुझाबपछि खरिद प्रक्रिया रद्ध गर्ने टुंगोमा प्रधानमन्त्री पुग्नुभएको स्रोतले जनाएको छ ।

चीनबाट स्वास्थ्य उपकरण र औषधि खरिद बजार मूल्यभन्दा बढि भएको, दर्ता नै नभएको कम्पनीबाट रातारात खरिद गरिएको र कम गुणस्तरको सामान आएको सार्वजनिनक भएपछि दुई अध्यक्षबीच भेट भएको थियो । कोरोना उपचारका लागि भन्दै ओम्नी ग्रुपको ओबिसिआईसँग सरकारले विनाप्रतिष्पर्धा १ अर्बभन्दा बढिको मेडिकल सामाग्री खरिद गर्ने सम्झौता गरेको थियो ।

खरिद प्रक्रियामा विवाद भएपछि दुई अध्यक्षबीच भेट भएको थियो । भेटमा दुई अध्यक्षबीच सीमानामा अलपत्र नेपालीको उद्धार, पीडितहरूका लागि राहतको व्यवस्था, औषधि खरिद प्रक्रियाम उत्पन्न विवादका बारेमा छलफल भएको थियो अध्यक्ष प्रचण्डको सचिबालयले जनाएको छ ।

भेटलगत्तै लगत्तै स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले ओम्नीसँग खरिद गर्ने भनेर ल्याइएका मेडिकल उपकरण खरिद सम्झौता रद्द गरिएको जानकारी दिनुभएको हो ।

ओम्नीले प्रतिबद्धता अनुसार सामान आपूर्ती नगरेपछि र चौतर्फी विवादमा फसेपछि मन्त्रालयका उच्च अधिकारीहरू सोमबार देखि नै खरिद प्रक्रिया रद्ध गर्ने छलफलमा रहेको बुझिएको छ ।

बुधबार, १९ चैत, २०७६, साँझको ०७:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर