विराटनगर । पछिल्लो समय देश दौडाहामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनः एकपटक माओवादी पक्षमा जनलहर आउने दाबी गरेका छन् । माओवादी सुस्ताउँदा प्रतिक्रियावादीले टाउको उठाएको उनको भनाइ छ ।
सोमबार पूर्वी चितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘देशैभरि फेरि माओवादीको पक्षमा लहर आउँदैछ । प्रदेश २ मा ३२ वटा संघीय सिट छन् त्यहाँ म सर्लाही, महोत्तरी, रौतहट पुगेको थिएँ , माओवादी नै देश जोगाउने पार्टी हो भन्ने लहर देखिएको पाएँ ।’
महन्थ ठाकुर र राजेन्द्र महतोमाथि मधेसमा विश्वास नरहेको उनको जिकिर छ । ‘मधेसीको हक अधिकारको रक्षा मधेसी दलले गर्छन् कि भन्ने लागेको थियो तर त्यो होइन रहेछ । महन्थ ठाकुर र राजेन्द्र महतोमाथि विश्वास रहेनछ,ु प्रचण्डले भने , ‘माओवादीमै आश रहेछ । अहिले देशैभरि त्यही परिस्थितिका रिपोर्टहरु छन् । हामी कम्युनिस्ट आन्दोलनको एकताको झण्डा उठाएको हो विभाजनको होइन । एमाले प्रतिक्रान्तिकारी पार्टी हो ।’
गएको केन्द्रीय कमिटी बैठकबाट अब पार्टीलाई बनाइ छाड्ने संकल्प गरेको उनको भनाइ छ । ‘संगठनमा यसबीचमा देखापरेको निष्क्रियता, असन्तुष्टि, अराजकता र गुटबन्दीलाई अन्त्य गर्ने संकल्प गरेका थियौँ । सोहीअनुसार देशैभरि सदस्यता नवीकरण र अधिवेशनहरु गर्न थालेका हौँ । अधिवेशन हुन थालेपछि पार्टीको पुनर्गठन र पुनर्निर्माणको महान् अभियानमा महत्वपूर्ण ऊर्जा पैदा भएको छ,’ प्रचण्डले भने ।
कार्यकर्तामा केही आत्मविश्वासमा कमी आउँदा प्रतिक्रान्तिकारीहरुले टाउन खोजेको उनले बताए । आँधी हुरी ल्याइदियो भनेर मात्रै गणतन्त्र स्वीकारेको भन्नेहरु एमालेमा रहेको प्रचण्डको भनाइ छ । प्रचण्डले भने, ‘उनीहरु आफ्नो असली चरित्र देखाइरहन्छन् । उनीहरुले गतवर्ष गरेको सेटिङ, संविधान च्यात्न प्रयास त्यसैको उदाहरण हुन् । आफ्नो एजेण्डालाई माओवादीले अब स्थापित गर्नतिर लाग्नुपर्छ । गलत तत्वका विरुद्ध लडाइँ लड्नुपर्छ, त्यही भएर विदेह सुरु गरेको र सफलता प्राप्त गरेको पनि हो ।’
माओवादी सुस्ताउँदा र विभाजित हुँदा प्रतिक्रियावादीले टाउको उठाउँदा रहेछन् भनेर पुष्टि भएको उनले बताए । ‘हामीले गठबन्धन बनाएर प्रतिक्रान्तिकारीहरुलाई बालुवाटारबाट बालकोट र सातै प्रदेशबाट गल्त्याएर घरघरमा पठाउन सफल भएका छौँ । माओवादीले मात्र राष्ट्रलाई एकताबद्ध राख्न सक्छ, उपलब्धि र परिवर्तनलाई जोगाउन सक्छ,’ प्रचण्डले भने ।