६० जिल्लामा आज छानिँदैछन् काँग्रेस क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि

विराटनगर । वडा तहदेखि नै निर्वाचनमार्फत नेतृत्व चयन गरिरहेको सत्तारुढ
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु हुँदैछ ।

झापालगायतका जिल्लामा आजै अधिवेशन हुँदैछ भने मोरङमा भने भोलि हुनेछ । ६० जिल्लाका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन सोमबार सुरु हुन लागेको हो । १४ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने सोमबार ६० जिल्लामा अधिवेशन हुन लागेको हो ।

आज केन्द्रीय महाधिवेशनका मतदाता महाधिवेशन प्रतिनिधि पनि चयन गरिने छ । वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व र महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान गर्ने छन् ।

एउटा निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ देखि २७ जनासम्म महाधिवेशन प्रतिनिधि चुनिन्छन् । अल्पसंख्यक र अपांगता भएकालाई पनि समावेशी कोटामा समेट्ने निर्णय भएकाले निर्वाचन क्षेत्र पिच्छे संख्या तलमाथि हुने निर्वाचन समितिको भनाइ छ ।

आज प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि हुने छ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला सभापतिको उम्मेदवार बन्न समेत महाधिवेशन प्रतिनिधि चुनिनुपर्ने प्रावधान छ

मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुने छ । आज महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले अधिकांश केन्द्रीय नेताहरु गृह जिल्लामा रहेका छन् ।

सोमबार, ०६ मंसिर, २०७८, बिहानको ०९:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर