विराटनगर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै उच्च अदालत विराटनगर र मोरङ अदालत परिसरभित्र कानुन व्यवसायीहरुले धर्ना दिएका छन् ।
उच्च अदालत विराटनगर बार एसोसिएसन र मोरङ अदालत बार एसोसिएसनको आयोजनामा वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुले धर्ना दिएका हुन् । विवाद र भ्रष्ट्राचारमा डुबेको भन्दै प्रधानन्यायधीशविरुद्ध कालोपट्टी बाँधेर उनीहरुले प्रदर्शन गरेका थिए ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले एक घण्टा शान्तिपूर्ण विरोध प्रर्दशन गरे । उनीहरूले बारको कार्यालय अगाडि भेला भएर दिउँसो ११ देखि १२ बजेसम्म अदालत परिसरभित्र प्रदर्शन गरेका हुन् । दुवै अदालतअगाडि गरिएको प्रदर्शनलाई उच्च अदालत बारका अध्यक्ष नारायणप्रसाद दाहाल र जिल्ला अदालत बारका अध्यक्ष पुनम गुप्ताले नेतृत्व गरेका थिए ।
प्रदर्शनको क्रममा ‘न्यायालयको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ लगायतका नारा लगाइएको थियो । उच्च अदालत बार एसोसिएसन विराटनगरको सचिव अधिवक्ता कला त्रितालले न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध हाम्रो अभियान स्वरुप धर्नामा बसेको बताइन् । न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायधीशले राजीनामा दिनुपर्ने उनले बताइन् ।
कानुन व्यवसायीमाथिको प्रहरी दमन र प्रधानन्यायाधीशको विकृति र विसंगति विरुद्ध तीन दिनसम्म लगातार एक–एक घण्टा विरोध प्रदर्शन गर्ने दुवै बार एसोसिएसनले कार्यक्रम तय गरेको सचिव प्रेमकुमार घिमिरेले जानकारी दिए ।