तीनै तहको निर्वाचन एकै पटक गरे पैसा बच्ने माओवादी नेता मातृका यादवको भनाइ

सुनसरी । देशभर निर्वाचनको माहोल तातिरहेको बेला पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले तीनै तहको निर्वाचन एकैपटक गर्दा राम्रो हुने बताएका छन् ।

स्थानीय, प्रदेश र संघको निर्वाचन एकैपटक गर्दा राज्यको खर्च कम हुने उनको दाबी थियो । सुनसरीको इनरुवामा आज संचारकर्मीसँग कुरा गर्दै यादवले यस्तो बताएका हुन् ।

उनले एकै पटक नभएपनि राज्य र जनतालाई सजिलो हुने गरी कसरी चुनाव गर्ने भन्ने विषयमा गठबन्धनको बीचमा छलफल भइरहेको बताए । ‘तीनै तहको निर्वाचन एकै पटक गर्ने कि भन्ने विचार पनि आएको छ,’ यादवले भने, ‘सबैभन्दा राम्रो राज्यलाई कम भार पर्ने, जनतालाई कम दुःख हुने भनेको तीनै तहको निर्वाचन एकै चोटी गर्ने हो ।’

‘धेरै चलखेल, षड्यन्त्र पनि गर्न नपाउने, राज्यको आर्थिक बोझ पनि कम हुने, राजनीतिक दललाई पनि सजिलो हुन्छ कि भन्ने एउटा विचार छ,’ उनले थपे । यादवले सरकार सङ्घीय गणतन्त्रलाई सुदृढ बनाउने गरी काम गरिरहेको बताए ।

नेता यादवले प्रतिगमनकारीलाई परास्त गर्न अग्रगमनकारीबीच सहकार्य आवश्यक रहेको र त्यसैलाई सार्थक पार्नका लागि ओलीविरुद्ध आफूहरू लागेर गठबन्धन बनाएको बताए । उनले अहिले नर्वाचनको बारेमा भन्दा देशको संविधान रक्षा, विभिन्न आन्दोलनको उपलब्धिको रक्षा र जनताको आवश्यकता पुरा गर्ने विषयमा गठबन्धन बीचमा निरन्तर छलफल भइरहेको पनि बताए ।

शनिबार, २७ कार्तिक, २०७८, रातीको ०८:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर