मुख्यमन्त्री आचार्यले दिए राजीनामा

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । भदौ १० मा प्रदेश १ को मुख्यमन्त्री नियुक्त आचार्यले सोमबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन ।

उनले आजै प्रदेश प्रमुख सामु राजीनामा बुझाउने जानकारी पनि दिएका छन् ।

मुख्यमन्त्री आचार्यले राजीनामा दिएसगै नेकपा एमाले संघ र सातै प्रदेशमा विपक्षमा पुगेको छ । यसअघि संघमा र प्रदेश १, वाग्मती , लुम्बिनी र गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार थियो । प्रदेश १ मा अहिले पनि एमाले सदनको सबैभन्दा ठूलो दल हो । तर, अब उसले सत्ता नेतृत्व गुमाएको छ ।

प्रदेशसभा गठन भएदेखी नै प्रदेशको मुख्यमन्त्री बन्ने प्रयासमा लागेका आचार्य तेस्रोपटकमा यसपटक भदौ १० मा सफल भएका थिए । एमालेमा माधव नेपाल समुहका नेता उनी १० बुदे सहमतिको पक्षमा उभिदै एमालेमा रहेका थिए ।

आफुलाई मुख्यमन्त्री बनाए प्रदेश १ मा समाजवादीको पक्षमा सासद जान नदिने वचन पार्टी अध्यक्ष केपी ओलीलाइ दिएर उनी मुख्यमन्त्री बनेका थिए । तर, समाजवादीमा एमालेका १० सासद गएपछि उनी अल्पमतमा परेका थिए ।

भदौ ९ मा नेकपा एमाले विभाजित बनेको भोलिपल्ट उनी मुख्यमन्त्री बनेका थिए । दल बिभाजन भएको ३० दिनभित्र सदनबाट विश्वासको मत लिनु पर्ने सवैधानिक प्रावधान छ । तर, त्यसको आफू अनुकूल व्याख्या गर्दै सरकारले आफ्नो आयु ६७ दिनसम्म लम्ब्याएको थियो ।

प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले जनताको अपेक्षाका कारण आफुले बेलैमा सरकार छाड्न नसकेको दाबी गरे । विश्वासको मत नपाउने निश्चित हुँदा हुँदै जनताको अपेक्षा अनुसार सरकार चलाउने बाध्यता भएको उनको भनाइ थियो ।

राजीनामा दिनेक्रममा मुख्यमन्त्री आचार्यले सरकारले ल्याएको दल विभाजन सम्बन्धि अध्यादेशको विरोध गरेका थिए । दलहरू विभाजित गरेर , छिर्के हानेर गरिने राजनीति लोकतान्त्रिक मान्यताभित्र नपर्ने उनको भनाइ थियो । उनले दलहरु मिलेर जानुको विकल्प नभएको पनि बताएका थिए । दुई महिने कार्यकालको उपलब्धि सुनाउदै उनले नयाँ कामको थालनी गरेको दाबी पनि गरे ।

सोमबार प्रदेश सभामा विश्वासको मत लिने कार्यसुची थियो । ९३ सदस्यीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ । जसमा एमालेसँग सभामुखसहित ५१ सदस्य छन् । तीमध्ये एक जना सांसद् गुलेफुन खातुन फौजदारी अभियोगमा अदालतले कैद सजाय सुनाएकाले फरार छिन् । उनी अनुपस्थित रहँदा एमालेमा ५० जना सांसद थिए । यसमध्ये १० जनाले समाजवादी रोजेपछि एमालेको सांसद संख्या ४१ मा झरेको थियो । यो संख्यामा एक जना सभामुख पनि छन् । बराबरी अवस्थामा निर्णायक मत दिनेबाहेक सभामुखले मतदान गर्न पाउँदैनन् । यसरी एमालेको कूल मत संख्या अब ३९ मा झरेको छ ।

प्रदेशसभामा काँग्रेससँग २१, माओवादीसँग १५ र जनता समाजवादीसँग ३ जना सांसद छन् । यी तीन दलसँग जम्मा ३९ जना सांसद छन् । त्यसमा एकीकृत समाजवादीका १० जना थपिँदा ४९ र संघीय लोकतान्त्रिक मन्चको एक जनासहित ५० पुगेको छ । यो संख्या सरकार ढाल्न र नयाँ बनाउन पुग्दो बहुमत हो । पुग्दो बहुमतसहितको विपक्षी गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राइलाई भावी मुख्यमन्त्री प्रस्ताव गर्ने तयारी गरेको छ । विपक्षी दलले आजै सबै सासदको हस्ताक्षर संकलन गरेका छन । प्रदेश प्रमुखले सरकार बनाउन आह्वान गर्ने बित्तिकै राजेन्द्र राई लाई मुख्यमन्त्री प्रस्ताव गरेर हस्ताक्षर बुझाउने तयारी रहेको काङ्ग्रेस प्रमुख सचेतक केदार कार्कीले जानकारी दिएका छन ।

गणित प्रतिकुल हुँदा हुँदै पनि मुख्यमन्त्री आचार्यले बिपक्षी सासद फकाउन भगिरथ प्रयास गरेका थिए । तर, त्यो सम्भावना नभएपछि उनले राजीनामा दिएका हुन् ।

सोमबार, १५ कार्तिक, २०७८, दिउँसोको ०२:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर