विराटनगर । पदबहालीकै दिन उपभोक्ताहरुको विद्युत महशुलमा सहुलियत दिने घोषणा गरेकी उर्जा तथा जलश्रोतमन्त्री पम्फा भुसालको योजना मंसिरदेखि कार्यान्वयनमा आउने भएको छ ।
मन्त्री भुसालको निर्देशन अनुसार विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गर्दै बुधबार नयाँ दर सार्वजनिक गरेको छ ।
मंसिरबाट लागू हुने महसुलदर अनुसार ५ एम्पियरको लाइन लिने सिङ्गल फेज घरायसी ग्राहकले २० युनिटसम्म खपत गर्दा शुल्क तिर्न पर्दैन । उनीहरुले सर्भिस चार्जबापतको न्युनतम् ३० रुपैयाँ मात्रै तिरे हुनेछ ।
मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २२ लाख ग्राहकले लाभ लिनेछन् । न्युन आय भएका र थोरै विद्युत उपभोग गर्ने उपभोक्तालाई राहत दिने सरकारको योजना कार्यान्वयन गर्दा प्राधिकरणले वर्षमा ७५ करोड बराबर लगानी गर्ने बताइएको छ ।
आयोगले इन्डक्सन चुल्हो र विद्युतीय उपकरणको प्रयोग बढी हुने युनिटअनुसारको स्ल्याबमा पनि महसुल दर घटाएको छ । त्यसैगरी सिँचाइका ग्राहकको महसुल पनि घटेको छ । सिङ्गल फेजमा ९ वटा स्ल्याब रहेकोमा ६ वटामा झारिएको छ । अब २० युनिटसम्मको पहिलो स्ल्याब हुनेछ भने २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि २५० र २५१ युनिट भन्दा माथिसम्मको स्ल्याब कायम गरिएको छ ।
अब महिनामा १०१ युनिटभन्दा बढी खपत गर्ने ग्राहकले तिर्नुपर्ने महसुल कम भएको छ । त्यो भन्दा माथिका २ वटा स्ल्याबमा प्रतियुनिट ५० पैसादेखि एक रुपैयाँसम्म कम महसुल कायम भएको छ । यसले इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकले कम महसुल तिर्दा हुने अवस्था अवस्था बन्ने आयोगको दावी छ ।
१५१ देखि २५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई अब प्रतियुनिट ९ रुपैयाँ ५० पैसा महशुल कायम गरिएको छ । ४ सय युनिटभन्दा माथि विद्युत खपत गर्ने उपभोक्ताले ११ रुपैयाँ तिर्नुपर्नेछ ।
व्यवसाय सञ्चालनका लागि ४ सय भोल्टको थ्री फेजको लाइन लिने घरायसी वर्गका ग्राहकले पनि वर्षामा प्रतियुनिट १०.५० र हिउँदमा ११.५० रुपैयाँ महसुल तिर्नुपर्ने छ । यसअघि ४ सय युनिटसम्म खपत गरेमा ११.५० रुपैयाँ र त्यसमाथि खरिद गर्नेले १२ रुपैयाँ महसुल तिर्नुपर्ने प्राबधान थियो ।
सबैभन्दा बढी लाभ यसपटक सिँचाइका ग्राहकले पाएका छन् । उनीहरुको महसुल ८० प्रतिशतसम्म घटाइएको छ । २३०–४०० भोल्ट बिजुली उपयोग गर्ने ग्राहकको हकमा सिँचाइका ग्राहकले अब प्रतियुनिट २.२५ रुपैयाँ महसुल तिनुपर्नेछ । यसअघि यो तहमा प्रतियुनिट ४.३० रुपैयाँ महसुल थियो । सिँचाइका ३३ केभीका ग्राहकले प्रतियुनिट २.५० रुपैयाँ महसुल तिर्नुपर्नेछ । यसअघि यो स्ल्याबमा प्रतियुनिट महसुल ४.८० रुपैयाँ थियो ।
११ केभीका सिँचाइ ग्राहकले प्रतियुनिट २.६० रुपैयाँ महसुल तिरे पुग्नेछ । यसअघि यो स्ल्याबमा प्रतियुनिट ४.९० रुपैयाँ थियो । सिँचाइमा दिइएको सुविधाका लागि प्राधिकरणले वर्षमा ५६ करोड योगदान गर्नुपर्ने छ ।