काठमाडौं । नेपालका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा मोदीले देउवालाई बधाई ज्ञापन गर्दै मिलेर काम गर्न प्रस्ताव गरेका छन् ।
यसैबीच मोदीले टेलिफोन वार्ताका क्रममा दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको बताइएको छ । मोदीले कोरोना महामारी लगायत विषयमा सहकार्य गरेर अघि बढ्ने प्रस्ताव पनि देउवा समक्ष राखेका छन् ।
प्रतिउत्तरमा देउवाले मोदीलाई धन्यवाद दिँदै साझा विषयहरुमा मिलेर काम गर्न तयार रहेको धारणा राखेको बताइएको छ । प्रधानमन्त्री मोदीले देउवासँग टेलिफोन वार्ता भएको ट्वीटरमार्फत पुष्टि गरेका छन् । आइतबारदेउवाले संसदबाट विश्वासको मत जितेलगत्तै मोदीले ट्वीटरमार्फत बधाई समेत दिएका थिए ।