एमाले नेता भानुभक्त ढकाल निरन्तर विवादमा

यस्तो छ विपी प्रतिष्ठान डुबाउने खेलको अन्तर्य

विराटनगर । प्रदेश १ को सबैभन्दा ठूलो स्वास्थ्य संस्था विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ध्वस्त पार्ने पछिल्लो खेलमा एमाले नेता भानुभक्त ढकाल नराम्ररी मुछिएका छन् ।

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित ढकाल मन्त्री बनेयता निरन्तर विवादास्पद र अनियमित कामका कारण चर्चामा आइरहेका छन् । यही सिलसिलामा उनी विपी प्रकरणमा प्रत्यक्षतः जोडिएका छन् ।

कोरोनाकालमा स्वास्थ्यमन्त्री हुँदा ओम्नी प्रकरणमा मुछिएका उनी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी विवादमा पनि नराम्ररी मुछिएका थिए । चुनावमा सघाएकै कारण योग्यलार्य पन्छाएर डा. ज्ञानेन्द्र गिरीलाई उपकुलपति बनाएका उनले अन्य पदाधिकारी नियुक्तिमा आर्थिक चलखेल गरेको आरोप नै लाग्यो । यति मात्रै होइन, विपी प्रतिष्ठानमा भाइभतिजालाई नियम मिचेर नियुक्ति दिएको विषयले पनि ढकाल विवादमा तानिए ।

‘विपीमा पहिल्यैदेखि समस्या धेरै थिए’, प्रतिष्ठानका चिकित्सक डा. पवन राउतले हाम्रोमतसँग भने ‘तत्कालीन मन्त्री ढकाल सामु विपी सुधार्ने अवसर थियो । उहाँकै प्रदेशको प्रतिष्ठान जोगिँदा सबैलाई राम्रो हुनेथियो । तर, उहाँ अरुलेभन्दा पनि बढी थिति बिगार्न लाग्नुभयो ।’ उनका अनुसार उपकुलपति नियुक्तिमा मात्रै होइन, अन्य पदाधिकारी, कर्मचारी नियुक्तिमा पनि ठूलो आर्थिक चलखेल भएको हल्ला चलेको थियो ।

एपकुलपति गिरीका स्वकीय सचिव दिलिप भट्टराईले रजिष्ट्रार बन्न मोहनचन्द्र रेग्मीले ढकाललाई सात करोड बुझाएको आरोप लगाउँदै फेसबुकमै लेखेका थिए ।

अहिले नेता ढकाल विपी प्रतिष्ठानका विवादास्पद उपकुलपति गिरीलाई जोगाउन अग्रसर भएका छन् । विपी प्रतिष्ठानलाई आर्थिक रुपमा जर्जर र कमजोर बनाउन भूमिका खेल्नेहरुलाई जोगाएर विपी प्रतिष्ठान ध्वस्त पार्न एमाले नेता ढकाल लागेको प्रतिष्ठानका वरिष्ठ प्राध्यापकहरु बताउँछन् ।

‘भानुभक्त ढकाललाई हामी सम्भावना बोकेको नेता मान्ने गथ्र्यौं तर उहाँ व्यक्तिगत स्वार्थको बन्धक बन्नुभयो’। विपी प्रतिष्ठानका एमाले निकट एक जना प्राध्यापकले भने ‘प्रतिष्ठान ध्वस्त भए होस्, आफ्ना मान्छे जोगिउन् भन्ने उहाँको शैली देखियो ।’

अहिले विपी प्रतिष्ठानमा आन्दोलन उत्कर्षमा छ । आन्दोलनकारी चिकित्सक र विद्यार्थीहरु उपकुलपति गिरी, रजिष्ट्रार मोहनचन्द्र रेग्मी, रेक्टर गुरु खनाल र अस्पताल निर्देशक गौरीशंकर साहको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताइरहेका छन् । उनीहरुले आगामी मंगलबारसम्ममा माग पूरा नभए सबैले राजीनामा दिने बताएका छन् । तर, यो आन्दोलनलाई वेवास्ता गरिरहेका प्रधानमन्त्री केपी ओलीसँग ढकाल उपकुलपतिको बचाउमा लागेका छन् ।

विपीमा चिकित्सक, विद्यार्थीले आन्दोलन थालेलगत्तै काठमाडौं गएका उपकुलपति गिरीले त्यसक्रममा उनलाई उपकुलपति बनाउने मन्त्री भानुभक्त ढकाललाई प्रधानमन्त्रीसँग भेट गराउन भनेको तर ढकालले वार्ता गरेर कुरा मिलाउन पहल गर्नुस् भनेपछि उनी धरान फर्केको स्रोतको भनाइ छ । ‘उहाँले प्रधानमन्त्रीलाई भेट्न चाहनुभएको थियो । तर, भानुभक्त ढकालले त्यसो भनेपछि धरान फर्केर वार्ताको आह्वान गर्नुभएको थियो’, उपकुलपति निकट स्रोतले भन्यो ‘तर, मदिराको बहानामा वार्ता भाँडिएपछि स्थिति बिग्रियो ।’

मदिरा सेवन गरेर आन्दोलनकारीसँग पेश भएको आरोप लागेपछि उपकुलपति गिरीको सक्रियता धरानमा बढेको छ भने उनलाई उपकुलपति बनाउने तत्कालीन मन्त्री ढकालको काठमाडौंमा । गिरीले प्रतिष्ठानका विभागीय प्रमुख तथा वरिष्ठ प्राध्यापकहरुसँग छलफल गरेर आन्दोलनकारीलाई सम्झाइदिन भनेका थिए । तर, उनीहरुले पनि अब आन्दोलन धेरै अघि बढिसकेको बताएका थिए । ‘तपाइँ आफैले पनि आन्दोलन जायज छ भनेर विज्ञप्ति जारी गरिसक्नुभएको छ, हामीले त्यसबारे केही भन्नै परेन’, उनलाई आफूहरुले दिएको सुझाव सुनाउँदै एक प्राध्यापकले भने ‘अब आन्दोलन अघि बढेको छ । यसलाई अब समाधान कसरी खोज्ने तपाइँको जिम्मा । आन्दोलनकारीलाई ब्याक हुनुस् भन्ने अवस्था हाम्रो छैन ।’

धरानमा गिरीले यस्तो सक्रियता देखाउँदा एमाले नेता ढकाल काठमाडौंमा सक्रियता देखाइरहेका छन् । आन्दोलनकारीलाई मत्थर पार्ने उपाय खोज्न भन्दै उनले सिनेट सदस्यहरुलाई तारान्तार फोन गरिरहेका छन् । ‘उहाँले प्रधानमन्त्रीसँग म कुरा मिलाउँछु उता आन्दोलनकारीलाई मत्थर पार्न तपाइँहरु लाग्नुस्’ भनेको एक सिनेट सदस्यले जानकारी दिए । उनलाई यसबारे सोध्न खोज्दा कुरै गर्न मानेनन् ।

काठमाडौंमा यस्तो गतिविधि भइरहँदा उपकुलपतिलगायत पदाधिकारीले दुई सातासम्म वेवास्ता गरेको विपी प्रतिष्ठानको आन्दोलन प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयको पनि वेवास्ताले झनै चर्कने दिशातिर उन्मुख भएको छ ।

धरानमा १९ दिनदेखि आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका चारै जना पदाधिकारीको बहर्गिमनलाई आफ्नो मुख्य मुद्दा बनाएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीसहितको राजनीतिक नेतृत्व भने जसरी पनि उपकुलपति गिरी जोगाउने खेलमा लागेपछि विपी प्रतिष्ठान झनै ठूलो द्वन्द्वमा फँस्ने देखिएको छ ।

आन्दोलनकारीहरु समस्या समाधानका लागि प्रधानमन्त्री ओली वा स्वास्थ्य मन्त्रालयको ‘निर्णायक पहल’ पर्खेर बसेका छन् । यी निकायले कम्तीमा एउटा अधिकार सम्पन्न वार्ता समिति बनाएर संवादको वातावरण बनाउनु पर्ने आन्दोलनकारीको माग छ । प्रतिष्ठानका कुलपतिको हैसियतमा प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने उनीहरुको मागलाई बालुवाटारले भने पूर्ण रुपले वेवास्ता गरेको छ ।

यसमा पनि नेता ढकालकै कुरा सुनेर बालुवाटारले समाधानको अनिच्छा देखाएको प्रतिष्ठानका चिकित्सकहरु बताउँछन् ।

शनिबार, १९ असार, २०७८, साँझको ०७:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर