विराटनगर । महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन सम्बन्धी महासन्धि ‘सीड’को निष्कर्ष तथा सुझाव कार्यान्वयनको अवस्था सम्बन्धी कार्यशाला विराटगनरमा सम्पन्न भएको छ ।
राष्ट्रिय आदिवासी अपाङ्ग महिला संघ नेपाल, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ प्रदेश १ र अपाङ्ग विकास संघ उदयपुरको संयुक्त आयोजनामा चैत्र ८ देखि सुरु भएको कार्यशाला गोष्ठी सोमबार सम्पन्न भएको हो । सीड कार्यान्वयनको पक्षमा स्थानीय सरकार, स्थानीय निकाय र सरोकारवालाहरुको स्थिति र अवस्था बारे बुझ्न तथा सीडबारे थप जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाल सरकारले सीडको छैठौं आवधिक प्रतिवेदन संयुक्त राष्ट्र संघलाई बुझाउँदै गर्दा सीडको निष्कर्ष, सुझाव र कार्यान्वयन पक्षबारे स्थानीय तह तथा सरोकारवालालाई जानकारी गराइएको थियो । प्रदेश १ का विभिन्न जिल्लाहरुबाट कार्यक्रममा सहभागी भएका महिलाहरुलाई पनि सीडबारे आवश्यक जानकारी प्रदान गरिएको राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपालकी अध्यक्ष प्रतिमा गुरुङ्गले बताउनुभयो ।
१११ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रदेश सांसद शिवनारायण सिंहले अपाङ्ग महिलाञहरुलाई आफ्नो अधिकार प्राप्त गर्न अझै धेरै कठिनाई भएको बताउनुभयो । महिलाहरु विभेदमा परिरहेको भएपनि अपाङ्गता भएका महिलाहरु बढी विभेदमा छन्, उहाँले भन्नुभयो, ‘यसका लागि अब सरोकारवाला निकायहरुले बिशेष ध्यान दिनु जरुरी छ । लक्षित वर्गले अधिकार प्राप्ति गरुन् भनेर राज्यले निर्माण गरेका नियम, कानुनहरु पनि पूर्ण छन कि छैनन् भनेर पूनर्विचार गर्नुपर्ने आवश्यकता छ ।’
महिला, आदिवासी, अपाङ्ग र सीमान्तकृत वर्गका लागि राज्यले विभिन्न कानुन निर्माण गरेपनि त्यसको खासै उपलब्धि नदेखिएको कार्यक्रमका वक्ताहरुले बताएका थिए । अब संशोधन गरिने कानुन वा नयाँ कानूनहरु प्रभावकारी बनाउने बिषयमा राज्यको ध्यानाकर्षण हुनुपर्ने उनीहरुको माग थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विराटनगर महानगरपालिकाकी उप–प्रमुख ईन्दिरा कार्कीले समाजमा धेरै परिवर्तन भएपनि महिला र अपाङ्गहरु बारे मानसिकता परिवर्तन हुन नसकेको बताउनुभयो । मानवीय व्यवहार र मानसिकता परिवर्तन नहुन्जेल महिला र अपाङग माथिको विभेद अन्त्य नहुने उहाँले जिकिर गर्नुभयो । विराटनगर महानगरपालिकाले महिला सुरक्षाका लागि विभिन्न प्रकारका आत्मरक्षात्मक तालिम प्रदान गर्दै आएको उप–प्रमुख कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रममा भने प्रदेश १ का विभिन्न स्थानीय तह, सरोकारवाला निकाय र गैह्र–सरकारी संस्थाका प्रतिनिधीहरु लगायतको सहभागिता रहेको थियो ।