विराटनगर । विराटनगर – ३ का कान्छा भनिने ४० वर्षिय नितेश कुमार राईको शंकास्पद रूपमा मृत्यु भएको छ । शुक्रबार राईको विराटनगर १९ घिनाघाटस्थित मृत अवस्थामा शव भेटिएको हो ।
राईको शरिरमा निलडाम र अनुहारमा चोटपटक देखिएकोले शंकास्पद रूपमा मृत्यु भएको भन्दै परिवारका आफन्तले गहन अनुसन्धान गर्न माग राखेका छन् । शव भेटिएको स्थान राईको घरदेखि करिब दुई किलोमिटर पूर्वमा पर्दछ ।
‘भाइको मृत्यु शंकास्पद रहेको छ,’ मृतकका दाजु रामबहादुर राईले भने, ‘यस घटनामा प्रहरी प्रशासनले निष्पक्ष छानविन गरि घटना बाहिर ल्याउनुपर्दछ ।’ बिहीबार दिउँसोदेखि राई सम्र्पकबिहीन भएको परिवारले जनाएको छ ।
प्रहरीले पोस्माटमको लागि विराटनगरस्थित कोशी अस्पताल लगेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ‘प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले घटना मुचुल्का उठाएर शवलाई पोस्माटम गरिन कोशी अस्पताल पठाएकोे छ,’ एसपी खड्काले भने, ‘पोस्माटम रिपोट आएपछि थप खुल्नेछ । अहिले अनुसन्धानको क्रममा छौं ।’
मृतक राईको घाँटीमा डोरी प्रयोग गरेर पनि आत्महत्या गरेको पनि हुनसक्ने प्रहरीले आशंका गरेको छ । ‘डोरी पनि चुडिएको अवस्थामा भेटिएको छ । डोरी चुटिदा चोटपटक लागेको हुनसक्छ । सबै कोणदेखि अनुसन्धान सुरू गरेका छौं,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।
यता मृतकका आफन्त र साथीहरूले कान्छाको हत्या गरेपछि झुण्डाएर मारेको दाबी गरेका छन् ।