नेकपा एमाले विवाद उत्कर्षमा

नेपाल पक्षले समानान्तर संगठन निर्माण गर्ने

विराटनगर । नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको छ । नेपाल पक्षलाई थाहा नै नदिई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले एकलौटी निर्णय गर्र्न थालेपछि विवाद झनै उत्कर्षमा पुगेको हो ।

नेपाल पक्षले चैत ४ गते राष्ट्रिय भेला गर्ने भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएपछि नेपाल पक्षले राष्ट्रिय भेला गर्ने निर्णय लिएको हो ।

काठमाडौंमा उपलब्ध नेपाल पक्षका सांसद र केन्द्रीय कमिटी सदस्यको भेलाले राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय लिएको हो । यस्तै ओली पक्षले एकलौटी ढंगले जिम्मेवारीबाट खोसेसँगै नेपाल पक्षले पनि समानान्तर संगठन निर्माणमा जुटेको छ ।

नेपाल पक्षको आजको भेलाले विभिन्न प्रदेशमा पार्टी कामको संयोजन गर्नका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ । जसमा प्रदेश १ को जिम्मेवारी भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा पार्टी कामको जिम्मेवारी भीम रावललाई दिइएको छ ।

त्यस्तै, युवा संगठनको कामको जिम्मा रघु पन्त, विद्यार्थीको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला संगठनको जिम्मा अष्टलक्ष्मी शाक्य, वुद्धिजीवीको जिम्मा प्रमेश हमाललाई जिम्मेवारी दिइएको छ ।

नेपाल पक्षले आजको भेलापछि वक्तव्य जारी गर्न लागेको छ । कानुनी परामर्श र सांसद तथा केन्द्रीय कमिटी सदस्यहरूसँगको छलफलपछि नेपाल पक्षले वक्तव्य जारी गर्न लागेको हो ।उक्त वक्तव्यमा एमालेमा केपी शर्मा ओलीले लिएको कदम र पछिल्लो राष्ट्रिय राजनीतिबारे धारणा सार्वजनिक हुने बताइएको छ । उक्त वक्तव्यमा उपाध्यक्षको जिम्मेवारी खोसिएका वामदेव गौतमको पनि हस्ताक्षर हुने नेपाल समूहको दाबी रहेको छ ।

शनिबार, २९ फागुन, २०७७, दिउँसोको ०४:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर