षष्टिका बस्नेत पुरस्कारबाट पत्रकारद्वय झा र न्यौपाने पुरस्कृत

समाचार बकपत्र जस्तो हुनुपर्छ : प्रदेश प्रमुख

विराटनगर । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा र पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने पुरस्कृत हुनुभएको छ । पूर्व अध्यक्ष झा षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार २०७६ र पूर्व केन्द्रीय सदस्य न्यौपाने सूचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७६ बाट शुक्रबार पुरस्कृत हुनुभएको हो ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाले विशेष कार्यक्रम आयोजना गरी सो पुरस्कार उहाँहरुलाई प्रदान गरेको हो । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले दुवैलाई पुरस्कार, कदरपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

सूचनाको अधिकारबारे जनचेतना अभियानमा संलग्न भएकाहरुलाई हरेक वर्ष प्रदान गरिदै आएको पुरस्कार यस पटक पूर्व अध्यक्ष झा र सूचनाको अधिकार प्रोत्साहन पुरस्कारबाट झापाका पत्रकार मोहनकाजी न्यौपानेलाई प्रदान गरिएको छ । २०४४ सालदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल रहनुभएका झालाई ५० हजार ५१ रुपियाँ राशि र न्यौपानेलाई १५ हजार १५ रुपियाँ राशिको पुरस्कार प्रदान गरिएको हो ।

सूचनाको अधिकारको क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई प्रोत्साहन र योगदान गर्नेहरुलाई सम्मान गर्ने उद्देश्यले २०७३ सालमा केदारबहादुर वस्नेतले नेपाल पत्रकार महासंघ मोरङ शाखामा सो पुरस्कार स्थापना गर्नुभएको थियो । यसअघि विनय कसजू, तारानाथ दाहाल, र शिवगाउँले यस पुरस्कारबाट पुरस्कृत भइसक्नुभएको छ ।

पुरस्कार वितरण समारोहमा बोल्दै प्रदेश प्रमुख प्यासीले समाचार जनताको बकपत्रको रुपमा जस्ताको त्यस्तै प्रवाह हुनुपर्ने बताउनुभयो । जनताको बकपत्रनै समाचारको रुपमा प्रवाह हुन्छ भनेर नयाँ पुस्तालाई प्रशिक्षित गर्नुपर्ने उहाँले बताउनुभयो ।

समाज रुपान्तरण र परिवर्तनका लागि पत्रकार बलियो पिलर हो भन्दै प्रदेश प्रमुख प्यासीले भन्नुभयो ‘पत्रकार यस्तो पिलर रहेछ, मोरल बुस्ट भएको पिलर रहेछ । रेक्ट्रोफिटिङ गरेपछिको झैं भुकम्पले पनि नभत्काउने बलियो पिलर रहेछ । त्यो कुरा मैले आन्दोलनका क्रममा पछि अनुभूत गरेँ ।’

पत्रकारिता देश, जनता र गणतन्त्र र संघीयताको प्रतिकुल नहुने गरी त्यसको हितमा गर्नुपर्ने प्रदेश प्रमुख अधिकारीले बताउनुभयो । उहाँले मुलुकको परिवर्तन कुनै एक पक्षले वा नेताहरुको भाषणबाट मात्र प्राप्त नभएको भन्दै सबैको योगदानबाट सम्भव भएको बताउनुभयो ।

प्रदेश प्रमुख प्यासीले निरंकुशताको विरूद्धमा निसाना बनाउन कम्मर कसेर लागेका पत्रकारहरु पुरस्कृत भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले पत्रकारिताले सूचना मजबुद पार्ने भन्दै चुनौतीपूर्ण समयलाई अवसरको रुपमा लिनुपर्ने उहाँको भनाइ छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सार्वजनिक निकायमा हुने हरेक सूचनाको वास्तविक मालिक जनता भएको भन्दै उहाँले निर्वाचित जनप्रतिनिधि वा त्यहाँका प्रमुख वास्तविक मालिक नभएको टिप्पणी गर्नुभयो । पत्रकार महासंघकै पहलबाट सूचनाको अधिकार स्थापित भएको र त्यसलाई कार्यान्वयन गर्न सम्भव भएको भन्दै उहाँले यो अभियान निरन्तर जारिराख्नुपर्ने बताउनुभयो ।

अध्यक्ष आचार्यले नेपाल पत्रकार महासंघको निर्वाचन अब १ महिना भित्रै हुने र प्रत्यक्ष निर्वाचनको माध्यमबाट निर्वाचित हुने विधि पहिलोपटक कार्यान्वयन हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुईंटेलले सूचनाको हक आम नागरिकको विषय भएको र सहि सूचनाले मात्र विसंगतिको अन्त्य गरी विकास र समृद्धिको यात्रा आरम्भ हुनसक्ने बताउनुभयो ।

जनता समाजवादी पार्टीका नेता तथा प्रदेशसभामा जसपा संसदीय दलका नेता जयराम यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पत्रकारिता क्षेत्र सदैव अग्रगमन तर्फ अग्रसर रहेको बताउनुभयो ।

पुरस्कृतहरुको तर्फबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले सूचनाको अधिकार सम्बन्धी पुरस्कार जनतालाई बलियो बनाउने, वैयक्तिक स्वतन्त्रतालाई अझ शक्तिशाली बनाउने देशभरको एकमात्र र सशक्त पुरस्कारको रुपमा आफुले ग्रहण गरेको बताउनुभयो । उहाँले पुरस्कार प्राप्त गरेपछि सूचनाको अधिकारको अभियानमा नयाँ जिम्मेवारी आरम्भ भएको भन्दै निर्णयप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यो पुरस्कार आफुले प्रतीक्षा गरेको महत्वपूर्ण पुरस्कार भएको टिप्पणी पनि गर्नुभयो ।

शुक्रबार, २८ फागुन, २०७७, साँझको ०७:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर