ठूला भ्रष्टाचारमा सरकारनै संलग्न – वरिष्ठ नेता पौडेल

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारनै ठूला भ्रष्टाचारमा संलग्न भइरहेको आरोप लगाएका छन् । सरकारले मन्त्रिपरिषदबाट नीतिगत निर्णय गर्दै ठूला भ्राष्टाचारलाई संस्थागत गर्ने गरेको पौडेलले बताएका हुन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले मन्त्रिपरिषदबाट हुने सबै निर्णय र नीतिगत भ्रष्टाचारका कुरा क्षम्य हुन नसक्ने पनि बताएका छन् । मन्त्रिपरिषदको निर्णयको बहानामा भ्रष्टाचार गर्नेलाई सजिलो भएको भन्दै उनले यस्तो नीति अब मान्य नहुने बताए ।
‘क्याबिनेटको निर्णयको आडमा नीतिगतरुपमा भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाउदै गएको छ,’ नेता पौडेलले भने ‘ क्याबिनेटले निर्णय गरेपछि जुनसुकै भ्रष्टाचारबाट जोगिन्छ भन्ने नियम अब तोड्नु पर्छ ।’ कसैले पनि उन्मुक्ति नपाउने व्यवस्था गर्ने उनले बताए । सरकार सुशासनको पक्षमा भए मन्त्रिपरिषदबाट हुने निर्णयपनि अनुसन्धानको दायरामा ल्याउन तयार हुनुपर्ने उनको भनाई थियो ।

वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै नेता पौडेलले वाइडबडी, औम्नी, फास्ट ट्रयाक जस्ता परियोजनामा संलग्नता भएको बताए । फास्ट ट्रयाकमा अरबौंको ठेक्क एउटै कम्पनी छनौट गरेर उसैको आर्थिक प्रस्ताव स्वीकृति गर्ने कुरा भ्रष्टाचारको नाङ्गो रुप भएको नेता पौडेलले बताए ।
वरिष्ठ नेता पौडेलले अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेर सरकारले गरेको गल्ति सच्याउने विश्वास कायम रहेको बताए । अदालत नागरिकको भरोसाको केन्द्र भएकोले आगामी दिनमा आइपर्ने विग्रह र द्वन्द्व रोक्न सक्षम हुने उनको भनाई थियो ।

प्रधानमन्त्रीले भ्रष्टाचार संस्थागत गर्न र त्यसबाट उन्मुक्ति दिने उद्देश्यले भागबण्डामा विभिन्न आयोगहरुमा नियुक्ति गरेको नेता पौडेलले बताए ।
वरिष्ठ नेता पौडेलले वैशाखमा चुनाव हुन नसक्ने दावी दोहो¥याएका छन् । प्रधानमन्त्रीले चुनाव गर्छु भनेर गफ मात्रै लगाएको पौडेलले बताए । उनले भने ‘चुनाव चिन्हकै टुंगो नभएका प्रधानमन्त्रीले चुनाव गराउाछन् भनेर कसले पत्याउँछ ।’

निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न नै ९० दिन लाग्ने भएकाले तोकिएको समयमा निर्वाचन हुन नसक्ने उनको ठम्याइ छ । संविधान राम्रो भएपनि पात्र गलत पर्दा समस्या प्रतिनिधिसभा विघटन गर्ने जस्तो गैरप्रजातान्त्रिक चरित्र प्रधानमन्त्रीले प्रदर्शन गरेको बताए ।

अविश्वास प्रस्तावको पक्षमा कांग्रेस
कांग्रेस वरिष्ठ नेता पौडेलले प्रमुख प्रतिपक्ष दल भएको नाताले प्रदेश सरकार विरुद्ध पेश भएका अविस्वासको प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्ने बताएका छन् । उनले भने ‘प्रमुख प्रतिपक्ष दल भएको नाताले अविस्वासको प्रस्तावको पक्षमा मतदान गर्नुपर्छ भन्नेमा कांग्रेस स्पष्ट छ ।’ यस विषयमा कांग्रेस सभापतिसँग मत नमिलेको भन्ने विषयमा उनले सभापतिले मात्र अब कांग्रेस थेग्न नसक्ने बताए । भने ‘सभापतिले मात्र थेग्न सक्दैनन्, उहाँले मात्र थेग्न सक्नुहुन्न ।’

शुक्रबार, ०७ फागुन, २०७७, दिउँसोको ०२:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर