विराटनगर । हाम्रोमत दैनिकका सहकर्मी कर्णसहित सञ्चार क्षेत्रमा क्रियाशील विराटनगरका ८ पत्रकारहरुलाई सम्मान गरिएको छ ।
शनिबार विराटनगर–१५ स्थित रानी मकर्जमा लियो डिस्ट्रिक काउन्सिल ३२५ ए वन द्धारा आयोजित शैक्षिक सामाग्री वितरण कार्यक्रमका बिच उनीहरुलाई कोरोना योद्धा सम्मान पत्र–२०२१ ले सम्मान गरिएको हो । सम्मानित हुनेमा हाम्रोमत दैनिकका संवाददाता राकेश कर्ण, मकालु टेलिभिजनका बरिष्ठ संवाददाता नविन कर्ण, न्यु सृष्टि दैनिकका प्रधान सम्पादक शंकर खरेल, उद्घोष दैनिकका जितेन्द्र ठाकुर, आवर विराटनगरका प्रेम देवान, नेपाल टाईम्सकी रश्मिता उदास, एभिन्युज टेलिभिजनका विरेन्द्र कुमार शाह र लाईभ नेपालका सोनु कुमार दास रहेका छन् । कोरोना महामारीकाबिच जनतालाई सु–सुचित गराउने कार्यमा सक्रियतापुर्वक निर्वाह गरेको भुमिकाको उचित मुल्यांकन गर्दै उनीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई सम्मान पत्र र दोसल्लासहित सम्मान गरिएको थियो । सम्मानित सबै विगत लामो समयदेखि विराटनगरलाई केन्द्र बनाई सञ्चार क्षेत्रमा सक्रिय पत्रकारहरु हुन् ।
यस्तै कार्यक्रममा न्युरो अस्पतालका अध्यक्ष विरेन्द्र कुमार बिष्टलाई समेत सम्मान गरिएको छ । कोरोना महामारीकाबिच न्युरो अस्पतालले प्रदेश नं। १ मै पहिलोपल्ट निजी क्षेत्रबाट बहु–बिशिष्टिकृत कोभिड अस्पताल सञ्चालनमा ल्याई संक्रमितहरुको उपचारमा पुर्याएको योगदान कदर गर्दै उहाँलाई सम्मान गरिएको आयोजकले जनाएको छ । यस्तै सोही अवसरमा राष्ट्रिय सहकारी बैंक विराटनगर शाखाका कर्जा विभाग प्रमुख ईम्तियाज आलमलाई समेत सम्मान गरिएको थियो । सामाजिक अभियन्ता समेत रहनुभएको उहाँले सेवा कार्यमा सदैव गरेको सहयोगको कदर गर्दै आलमलाई सम्मान गरिएको हो ।
सोही अवसरमा क्लबले विराटनगरका विभिन्न सामुदायिक विद्यालयमा आबद्ध गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री समेत वितरण गरेको थियो । लियो डिस्ट्रिक काउन्सिल ३२५ ए वनका सोसाईटी जोन चेयर पर्शन मोजाहिद ईराकीको नेतृत्वमा क्लबले करिब ४ सय विद्यार्थीहरुलाई निःशुल्क शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यार्थीहरुलाई स्कुल ब्याग, पेन्सिल, कटर, ईरेजर र कलम लगायतका आवश्यक शैक्षिक सामाग्रीहरु वितरण गरिएको कार्यक्रम संयोजक मोहम्मद आरिफ रिजवान खानले जानकारी दिनुभयो ।
क्लबले भने आगामी दिनहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता प्रदान गर्ने जनाएको छ ।