विराटनगर । अदालतको अपहेलनामा कार्वाही हुने भयले जालझेल चोरी आरोपमा मोरङ प्रहरीले १० महिनापछि किटानी जाहेरी दर्ता गरेपनि आरोपी पक्राउ गर्न अझै चासो नदिएको जाहेरवालाले गुनासो गरेका छन् ।
ईँटाभट्टा व्यावसायमा साझेदार रहेका विराटनगरका विष्णु मैनालीलगायत ५ जना विरुद्ध चोरी गरेर ईँटा बिक्री गरेको र जालझेल गरेर १ करोड २० लाख रुपैयाँ हानीनोक्सानी पु¥याएको आरोपमा किटानी जाहेरी परेको छ ।
मोरङ प्रहरीले अदालतको मानहानी हुने डरले जाहेरी दर्ता गरेपनि आरोपीहरुलाई भने पक्राउ गर्न चासो नदिएको जाहेरवाला विराटनगर ५ का प्रकाश बजगाईको गुनासो छ । किटानी जाहेरी दिएका आरोपीहरु खुलेआम आफनो व्यापार व्यवसाय गरिरहेको र आफूहरुलाई धाकधम्की दिने गरेकोले असुरक्षा बढेको जाहेरीकर्ता प्रकाशका दाजु विकासले बताउनुभयो ।
प्रहरीमा दर्ता भएको जाहेरीमा उल्लेख भए अनुसार विराटनगर २ का भीष्म भनिने ६० वर्षीय बिष्णुप्रसाद मैनाली, विराटनगर ३ का ७० वर्षीय उद्धवप्रसाद रिजाल, विराटनगर ३ मुनालपथ बस्ने हरिप्रसाद पराजुली, विराटनगर २ का लिलाप्रसाद पराजुली र भुपराज पराजुलीले मिलेर साझेदारी उद्योगमा उत्पादन भएको १० लाख ईँँटा जालझेल गरि चोरी गरेको जनाइएको छ । उक्त ईटा बिक्रि गरी १ करोड २० लाख रुपैयाँ ठगी गरेको आरोप जाहेरबाला बजगाईं दाजुभाइको छ ।
सुरुमा जाहेरी बुझ्न नै आनाकानी गरेको प्रहरीले उच्च अदालत विराटनगरको परमादेशपछि पनि जाहेरी दर्ता गर्न मानेको थिएन । जाहेरी दर्ता नभएपछि बजगाईं दाजुभाई अदालतको मानहानी भएको भन्दै पुनः निवेदन गर्न पुगेका थिए । अदालतले जाहेरी दर्ता नगर्ने कारण प्रहरीसँग माग गरेपछि कार्वाही हुने भयले १० महिनापछि मोरङ प्रहरीले पुस ९ पुस गते जाहेरी दर्ता गरेको थियो ।
जाहेरी दर्ता भएपनि आरोपीहरु पक्राउ गरेर अदालतमा बुझाउन अझै प्रहरीले आलटाल गरिरहेकोले आफूहरु असुरक्षित भइरहेको जाहेरबाला दाजुभाइहरु प्रकाश र विकासको गुनासो छ । मोरङ प्रहरीका एसपी सन्तोष खड्काले जाहेरी दर्ता गरेर अनुसन्धान गरेपनि अदालतले आरोपीलाई पक्राउ गर्नु नभनेकोले कसैलाई पक्राउ नगरेको बताउनुभयो ।
वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले फौजदारी कसुरमा दर्ता भएका कुनैपनि जाहेरीका आरोपीहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने कानूनी व्यवस्था रहेको बताउनुभयो । ‘अनुसूचीभित्रको फौजदारी कसुरमा जाहेरी दर्ता गर्नु भनेपछि पक्राउ गर्नु भनेर अदालतले भनिरहन पदैन’ उहाँले भन्नुभयो, ‘प्रहरीले अनुसन्धान नगर्न आलटाल गरेको हो ।’
बजगाई दाजुभाईका अनुसार उनीहरुका बाबु टिकाप्रसादले मोरङको कटहरी गाउँपालिकाको भौडाहामा साझेदारीमा ईटा व्यवसाय गरेका थिए । २०७३ मा टिकाप्रसादको मृत्यु भएपछि उनकी श्रीमती सावित्रादेबी हकदार भएपनि साभेदारहरुले ईटाभट्टा र जमिन सबै आफूहरुको भन्दै एकलौटी कारोबार गरेर मुनाफा उपभोग गरेका थिए ।
साबित्राले आफ्नो भागको एक सय कित्ता शेयर बिक्रि गरेकोमा शेयर बिक्रिवापत दिनुपर्ने १५ लाख रकम पनि साबित्रालाई झुक्याएर खाली चैकमा सही गराएर बिष्णुले नै हडपेको बजगाई परिवारको आरोप छ । उद्योग स्थापना भएको १ बिगाहा ४ कठ्ठा जमिन साझेदारीले बिक्रि गर्ने योजना बनाएकोको थाहा पाएपछि छोराहरु प्रकाश र विकासले उच्च अदालत गुहारेका थिए ।
अदालतले जग्गा बजगाई परिवारकै नाममा कायम गराउँदै सम्पत्ती नबेच्न र नमास्न निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारीपछि साझेदारहरुले भण्डारण गरेर राखिएको १० लाख ईँटा एकलौटी बिक्रस् गरेका थिए । त्यसपछि न्याय माग्दै अदालत पुगेपछि बजगाई परिवारलाई उच्च अदालतले कानून अनुसार हकअधिकार दिनु भनेको छ ।
आदेशपछि बजगाई दाजुभाईले साझेदारहरुले दश लाख ईँटा चोरी गरेर बिक्री गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दर्ता गराउन पुगेका थिए । तर, प्रहरीले जाहेरी नलिएपछि उनीहरुले गत चैत ६ गते हुलाकमार्फत जाहेरी पठाए । तरपनि प्रहरीले चासो नदिएपछि जाहेरी लुकाउनेलाई कार्वाही गर्न माग गर्दै बजगाई दाजुभाईले अर्को पत्र हुलाकमार्फत पठाए ।
प्रहरीले कुनै सुनवाई नगरेपछि बजगाईं परिवारले गत असार २ गते उच्च अदालत विराटगरमा किटानी जाहेरी दर्ता गराईपाउ भनेर दिएको निवेदनमा अदालतले परमादेश गरेको थियो । अदालतको आदेशपछि पनि प्रहरीले जाहेरी दर्ता नगरेपछि बजगाईं दाइभाईले अदालतको मानहानी गरेको गत पुस ३ पुस गते प्रहरी विरुद्ध रिट हाले ।
अदालतले मोरङ प्रहरीलाई परमादेश किन पालना नगरेको भन्दै कारण देखाउ आदेश गरेपछि मोरङ प्रहरीले पुस ८ गते जाहेरी दर्ता गरेको पत्र पठाएको छ । अदालतको आदेश पालना नगरेको मुद्दामा कार्वाहीमा पर्ने भयले प्रहरीले किटानी जाहेरी दर्ता गरेपनि आरोपीहरुमाथि कार्वाही चलाउन भने चासो दिएको छैन ।
साझेदारीबापतको १५ लाख रुपैयाँ दिने बहानामा बैंक चेकमा सही गराएर पछि आफैंले पैसा निकालेर अपचलन गरेको मुद्दामा विष्णु मैनाली, उनकी श्रीमती र उद्योगका एक कर्मचारीलाई जिल्ला अदालत मोरङले जनही ५ लाख रुपैयाँ धरौटीमा छाडेको छ ।