विराटनगर । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईमाथि हतास मानसिकताको साथ ‘पोलिटिकल ब्ल्याकमेल’मा सक्रिय भएको आरोप लागेको छ ।
मुख्यमन्त्रीसँगै ३४ महिना सरकारमा साझेदारी गर्नुभएका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीले हतास मानसिकतामा अराजनीतिक हर्कत गरिरहेको आरोप लगाउनुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद बढ्दै गएर आधारभूत रुपमा मुख्यमन्त्री राई र आफूबीच राजनीतिक मान्यताहरुमा फरक परेको अवस्थामा आफूलाई सरकारबाट हटाउनु र आपूmहरुले अविश्वास प्रस्ताव पेश गर्नु स्वभाविक भएको आङ्बोले बताउनुभयो । यो अवस्थामा अविश्वास प्रस्तावको सामना गर्दै राजनीतिक रुपमा अगाडि बढ्नुपर्नेमा हतास मानसिकतासाथ अराजनीतिक आरोप प्रत्यारोप र ब्ल्याकमेलिङमा मुख्यमन्त्री लागेको उहाँको आरोप छ ।
सरकार छोड्ने निश्चित भएकै बेला आपूmलाई बर्खास्त गरेर मुख्यमन्त्रीले पोलिटिकल ब्ल्याकमेल गरेको उहाँले बताउनुभयो । ‘मलाई नहटाएको भएपनि हामी सरकार छोड्ने तयारीमै थियौं,’ उहाँले भन्नुभयो ‘मुख्यमन्त्रीले मलाई हटाएपछि अरु मन्त्री डराएर उहाँलाई समर्थन गर्छन् कि भनेर ब्ल्याकमेल गर्नुभएको थियो । तर, उहाँको उद्देश्य सफल भएन ।’
मुख्यमन्त्रीसँगै मुलुभुत राजनीतिक विषयमा फरक भइसकेपछि सरकारमा आपूmहरु नरहनु स्वभाविक भएको भन्दै आङ्बोले यतिको सामान्य राजनीतिक विषय पनि नबुझ्नु बचपना भएको टिप्पणी गर्नुभयो । १९ जना सांसदहरुलाई असंवैधानिक ढंगले स्पष्टिकरण सोध्ने र १६ जनालाई निलम्बन गर्ने प्रचार औचित्यहिन रहेको भन्दै उहाँले सांसदलाई निलम्बन गर्ने अधिकार दलकै बहुमत गुमाएको व्यक्तिलाई नहुने स्पष्ट पार्नुभयो ।
प्रबुद्ध नागरिक समाजले विराटनगरमा बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै आङ्बोले आफू अल्पमतामा परेपछि प्रदेशसभा पनि विघटन गर्ने धम्की दिनुले प्रधानमन्त्री र मुख्यमन्त्रीको नियत छर्लङ्ग बनाएको बताउनुभयो । ‘म मुख्यमन्त्रीको बारेमा कुनै टिप्पणी र आरोप लगाउन चाहन्न, मैले उहाँसँग ३४ महिना सँगै काम गरेको छु,’ उहाँले भन्नुभयो ‘तर, उहाँले केही दिनयता दिनुभएको प्रतिक्रिया अपरिपक्वमात्र छैन, अराजनीतिक, आधारहीन र बचपना पनि छ ।’
मुख्यमन्त्रीमाथि दर्ता भएको अविश्वासको प्रस्ताव सदनबाट टुंगिने भन्दै आङ्बोले सदनमै प्रतिवाद गर्न सुझाव दिनुभयो । ‘संसदको विश्वास छैन भन्नेकुरा हामी सदनबाट पुष्टि गर्ने प्रयत्न गर्छौं,’ आङ्बोले भन्नुभयो ‘तपाईले पनि आफ्नो तयारी थाले हुन्छ, बाहिर रातोपिरो हुँदै दौडिन जरुरी छैन ।’
मुख्यमन्त्री शेरधन राईले बिहीबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा पदभार ग्रहण गर्दै क्रोनिक बनाइएको मन्त्रालयको उपचार सुरु भएको भन्दै आङ्बोप्रति कटाक्ष गर्नुभएको थियो । उहाँले आङ्बोकै कारण प्रदेशको आर्थिक अवस्था लथालिंग बनेको आरोप पनि लगाउँदै आउनुभएको छ । यद्यपी प्रदेश सरकारमा देखिएको आर्थिक बेथिति मुख्यमन्त्रीले नेतृत्व गरेको भौतिक पूर्वाधार मन्त्रालयमा सबैभन्दा धेरै रहेको छ ।
गत आर्थिक वर्षको अन्तिममा आर्थिक मामिला तथा योजना मन्त्रालयको सहमति नलिई गैरबजेटरी खर्च गरेको कारण प्रदेश सरकारमा आर्थिक संकट देखिएको छ । यसरी खर्च गरिएको करिब ४ अब रुपैयाँमध्ये धेरै रकमको भुक्तानी पनि गर्न सरकारले सकेको छैन । यस्तो खर्च सबैभन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको थियो ।
आपूmले पठाएका बजेट बाहिरका योजना स्वीकृत नगरेको भन्दै मुख्यमन्त्री राईले चालु आर्थिक वर्षको बजेट निर्माणको तयारी भइरहेको बेला आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट महाशाखा प्रमुख हरिहर पौडेलको सरुवा गराएका थिए । बजेटभन्दा बाहिर जथाभावी रकम खर्च गर्न नहुने अडान लिएको कारण बजेट निर्माणका विज्ञ पौडेलको सरुवा गरिएको थियो ।