मन्त्रिपरिषद् बैठकः अध्यादेश फिर्ता भएन

काठमाडौं । आजसाँझ बसेको मन्त्रिपरिषद् बैठकले विवादास्पद संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे कुनै निर्णय गरेन । यो बैठकबाट अध्यादेश फिर्ताको निर्णय हुने सर्वत्र अपेक्षा थियो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बुधबार बसेको बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेपनि आजको बैठकमा सामान्य छलफल समेत नभएको मन्त्रीहरुले बताएका छन् ।

संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सहज बनाउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई थाहै नदिइ मंगलबार अध्यादेश ल्याउनु भएको थियो । अध्यादेशको विरुद्धमा सत्तारुढ दलसहित प्रतिपक्षी दलले समेत चर्को विरोध गरेका थिए ।

अध्यादेश फिर्ताका लागि सरकारले निर्णय गरेर राष्ट्रपतिकहाँ सिफारिस गर्नुपर्छ । ऊर्जा मन्त्री वर्षमान पुनले आजको बैठकमा अध्यादेश फिर्ताबारे कुनै छलफल नभएको बताउनु भयो ।

‘मंगलबारको बैठकमा पनि कुनै सुइँको नदिइकन अध्यादेश राष्ट्रपतिबाट जारी गराइयो । आजको बैठकमा पनि केही छलफल भएन । अस्ति कुनै सुइँकै नदिएजस्तै आजपनि राष्ट्रपतिबाट जारी भएपछि मात्रै थाहा पाइने हो कि !’ एक मन्त्रीले भने । आजको मन्त्रिपरिषद् बैठकमा अन्य सामान्य एजेण्डाहरुमा छलफल भएपनि अधयादेशका बारेमा प्रधानमन्त्री मौन बस्नु भएको थियो ।

बिहिबार, ०२ पुष, २०७७, रातीको ०८:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर