इलाम । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका लागि नबनेको बताउनुभएको छ ।
इलामको सूर्याेदय नगरपालिकामा बिहीबार चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएकोले पार्टी नफुट्ने दावी गर्नुभयो ।
अर्काे प्रसङ्गमा मुख्यमन्त्री राईले गएको तीन वर्षमा प्रदेशमा विकासको लहर आएको दावी गर्नुभयो । आपूmहरु निर्वाचित भएर आउँदा शून्य अवस्थामा रहेकोमा अहिले हिँड्ने अवस्थामा पुगेको उहाँको भनाइ थियो । कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको उहाँले बताउनुभयो ।
प्रदेश सरकारको २३ करोड रुपैयाँ लागतमा प्रशोधन केन्द्रको भवनको बन्दैछ । देशभरको चिया चाख्ने र बजार प्रवद्र्धनमा सघाउनेगरी निर्माण भएको केन्द्रलाई अध्ययन अनुसन्धान केन्द्र पनि बनाउने बताउनुभयो । नेपालको चिया गुणस्तरीय बनाउन र विश्वबजारमा चिनाउन केन्द्र आवश्यक रहेको उहाँको भनाइ थियो ।
प्रदेशका भूमिसुधार, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानामगरले केन्द्र स्थापनापछि विश्वभरका व्यापारी इलाम आएर चिया चाख्न पाउने बताउनुभयो । केन्द्रमा नेपालभरको चिया विश्वभरका व्यापारीले आफैं चाखेर रोजी–रोजी किन्न पाउने उहाँको भनाइ छ ।
सूर्याेदय नगरपालिका ७, कन्याममा निर्माण हुने केन्द्रको भवन निर्माण १८ करोड र उपकरण तथा फर्निसिङ खरिदमा ५ करोड खर्च हुने अनुमान छ । आयोजनाका लागि प्रदेश सरकारले ७५ प्रतिशत र नगरपालिकाले बाँकी २५ प्रतिशत रकम खर्चिनेछ ।
नेपाल चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले केन्द्र स्थापना हुनु नेपाली चियाको गुणस्तर र बजारीकरणका लागि कोसेढुंगा भएको बताउनुभयो । सुर्योदयको चियालाई विश्वकै उच्च गुणस्तरको अर्गानिक बनाउने नगरपालिकाको नीति–कार्यक्रम नै रहेको मेयर रणबहादुर राईले बताउनुभयो ।
१ नम्बर प्रदेशमा देशकै ९९ प्रतिशत चिया उत्पादन हुने गरेको छ । ८ हजारभन्दा बढी किसान चियामै आबद्ध रहेको सूर्याेदय नगरपालिकामा ५ दर्जनभन्दा बढी चिया प्रशोधन उद्योग छन् ।